काठमाडौं । कुनै विषय सानो भएपनि निक्कै ठूलो सन्देश दिने गर्छ ।

सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडियो भाइरल छ, जसले निक्कै चोटिलो सन्देश दिएको छ ।

भिडयोमा काठमाडौं महानगरका मेयर बालेन शाह र पोखरा महानगरका मेयर धनराज आचार्य एक साथ देखिएको छ । उहाँहरू पानीको बोतल बिर्को खोलेर पिउँदै हुनुहुन्छ ।

पानी बोतलको बिर्कोमा लगाइएको प्लाष्टिक खोलेर बालेनले कोटको खल्तीमा हाल्नुहुन्छ । भिडियोमा पोखराका मेयर धनराजले भने त्यही प्लाष्टिक भुँइमा फ्याँकेको देखिन्छ ।

समय नेपाल टिभी नामक टिकटकमा राखिएको उक्त भिडियोमा लेखिएको छ– ‘बालेनबाट केही सिक्ने कि मेयर साब धनराज जी।’

सराङकोटको बन्द कोठामा देशका ६ वटै महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत विज्ञहरू छलफलमा जुटेका बेलाको भिडियो हो यो । महानगर मेयर सम्मेलनमा सहभागी हुन आएका उहाँहरूलाई पोखराका मेयर धनराजले शुक्रबार सभागृहमा लोकदोहोरी प्रतियोगिता हेर्न लगाउनुभएको थियो ।

खचाखच दर्शकको भिडमा अघिल्लो रोमा बस्नुभएका मेयरहरूको टोलीमा धनराज र बालेन एकसाथ बस्नुभएको थियो । स्वयंसेवकले दिएको पानी बोतल खोलेर खाने क्रममा धनराजले प्लाष्टिक भुइँमा फालेको प्रत्यक्षदर्शी सन्देश बरालको भनाई छ ।

‘काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता डंगोलले प्लाष्टिक खल्तीमा हाल्नुभएको थियो, बाँकी सबैले भुइँमा फालेको देखिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘बालेन र धनराजको भिडियो खिच्दा उक्त दृश्य क्यामेरामा कैद हुन पुग्यो।’

पोखराका मेयर धनराजले महानगरको बजेट पास भएपछि पत्रकार सम्मेलन आयोजना गरेर आफू बालेन र धरानका मेयर हर्क साम्पाङ भन्दा फरक भएको दावी गर्नुभएको थियो ।

बालेन र हर्कले ‘स्टन्ड’ गरेको तर्क दिनुभएका उहाँले आफू गिट्टी कुट्न नजाने बताउनुभएको थियो । तर संस्कार सिकाउन त सकिन्छ नी ? भन्ने प्रश्न भने उहाँले खेप्नु परेको छ ।

‘कतिपय ठाउँमा युट्युबलगायत ठाउँमा स्क्याण्डल गर्ने देखिन्छ, धरान र काठमाडौंका मेयरसँग तुलना नगर्न आग्रह गर्दछु,’ उहाँले भन्नुभएको थियो, ‘चर्चाका लागि मात्र त्यो गर्नु उपयुक्त होइन कि।’

मेयर धनराजले फालेझैं पोखरामा जथाभावी प्लाष्टिक फाल्न पाइँदैन। तत्कालीन पोखरा उपमहानगरपालिकाले २०७३ कात्तिक २४ गते सहरलाई प्लाष्टिक मुक्त घोषणा गरेको थियो। महानगरकै योजना अनुसार विभिन्न चरणमा अभियान चलाएर उक्त घोषणा गरिएको थियो।

त्यतिबेला शहरका पसलहरूमा राखिएका प्लाष्टिक हटाउन र जथाभावी प्लाष्टिक फाल्नेलाई कारबाही र जरिवानासमेत तोकेको थियो। महानगरका एक कर्मचारीका अनुसार त्यतिबेला प्लाष्टिक बेच्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना लिइएको थियो । जथाभावी फाल्नेलाई १५ हजारसम्म जरिवाना लिइएको थियो ।

पोखरालाई प्लाष्टिकमुक्त बनाउन नगरपालिकाकै नीति अनुसार उहाँलाई जथाभावी प्लाष्टिक फालेको अभियोग सामाजिक संजालमा लागिरेको छ।

बालेनबाट संस्कार सिक्न आग्रह गर्दै सर्वसाधारणले विगतमा लगाएको जरिवाना मेयरलाई लाग्ने कि नलाग्ने प्रश्न उठाएका छन् । सानालाई ऐन, ठूलालाई चैन हुने हो भन्दै आशंका समेत व्यक्त गरेको देखिन्छ ।

सम्बन्धित खबरहरु