काठमाडौं । स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ ।

स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो ।

यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो ।

मन्त्रालयले भनेको छ, “कूल तीन हजार ७५० मा मङ्कीपक्स सङ्क्रमणको शङ्का गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ ।”

मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, मृतकमध्ये ‘दुई युवकहरू’ थिए र दुवै मृत्युका बारेमा थप अध्ययनहरू भइरहेका छन् ।”

स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ ।
मङ्कीपक्स सङ्क्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ ।

ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मङ्कीपक्स सङ्क्रमित पहिलो विरामीको मृत्यु भएको घोषणा गरेको थियो ।

यस पहिले अफ्रिकामा मङ्कीपक्स सङ्क्रमित नागरिकको मृत्यु भएको थियो । अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ तत्कालिन समयमा महामारीको रूप लिएको थियो ।

यद्यपि यस बर्ष मङ्कीपक्स सङ्क्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन ।

विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकारूपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो ।

डब्ल्यरूएचओका प्रमुख टेड्रोस आधानोम घेब्रेयससका अनुसार यस बर्ष मङ्कीपक्सका अधिकांश सङ्क्रमणहरू यूरोपमा पुष्टि भएका छन् ।

मे महिनाको सुरुदेखि अहिलेसम्ममा विश्वभरि देखिएको मङ्कीपक्स सङ्क्रमितमध्ये यूरोप क्षेत्रमा झण्डै ७० प्रतिशत समस्या देखिएको छ । रासस

सम्बन्धित खबरहरु