काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ ।

पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्व सल्बलाएर हुने/नहुने आरोप लगाएको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादीमाथि अनेकन आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीबिना मुलुकको विकाससमेत सम्भव नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ ।

यसबाट प्रतिक्रियावादी, बुर्जुवा र दलालहरू अत्तालिएका छन् । हामीमाथि भए÷नभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ । त्यसको भण्डाफोर गर्नु आवश्यक छ ।”

अध्यक्ष दाहालले माओवादीलाई आरोपित गर्ने प्रयास भएपछि त्यसको छानबिन समिति बनेको र समितिले कुनै त्रुटि भएको छैन भन्ने प्रतिवेदन बुझाइसकेकोसमेत उल्लेख गर्नुभयो ।

आगामी तीन महिना माओवादीका लागि अझै चुनौतीपूर्ण रहेको भन्दै उहाँले सङ्घीय र प्रदेशसभाको निर्वाचनमा श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गराउन र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन पनि माओवादीकै कारण सम्भव भएको जानकारी दिनुभयो ।

आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको भन्दै उहाँले देशको राजनीतिक, सामाजिक एवं आर्थिक विकासका लागि हरतरहले नेतृत्व गर्न सक्ने तागत माओवादीसँग मात्रै रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सङ्घीय र प्रदेशसभाको निर्वाचनका लागि तीनमहिने चुनावी अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिनुभयो ।

तीन महिना अभियानको रूपमा जाने हो भने देशमा नयाँ खालको राजनीतिक परिवर्तन ल्याउन सकिन्छ भन्ने आत्मविश्वास पैदा हुने बताउनुभयो ।

कार्यक्रममा प्रदेश समन्वय समितिका पदाधिकारीले गत स्थानीय तहको निर्वाचनमा खेलेको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खबरहरु