काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको ‘१०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’मा आज उहाँले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक कार्यकर्ताको समेत जिम्मेवारीलाई नभुल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईँहरू एमाले पार्टीको कार्यकर्तासमेत रहँदा कर्मचारीको जिम्मेवारीलाई पनि नबिर्सिनुहोस् । एक व्यक्तिले दोहोरो भूमिका निर्वाह गर्दा धेरै कुराको ज्ञान आर्जन गर्न सक्छ ।” सो दोहोरो भूमिकामा रहेर कर्मचारीले हाल सार्वजनिक संस्थामा देखिएको भनिने सङ्कट हटाउन जरुरी रहेको उहाँले जिकिर गर्नुभयो ।

कर्मचारीले पार्टीका साथै आफ्ना काममा समेत मध्यनजर गर्दा सङ्गठन मर्नबाट जोगिने वरिष्ठ उपाध्यक्षको ठहर छ । विसं २०७२ को महाभूकम्पमा ध्वस्त भएका २७ हजार मानिसका घर–टहरा बनाउने पार्टी एमाले रहेको दाबी गर्दै यस पार्टी विचारका आधारमा अघि बढ्ने भएकाले अझै शक्ति निर्माण गर्न चाहने धारणा व्यक्त गर्नुभयो ।

सङ्गठनका सचिव रामशरण अधिकारीले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आफूहरूले सो संस्था गठन गरेको भनाइ राख्नुभयो । सङ्गठनका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार कुलबहादुर आचार्य, निजामति कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभाष शाह, पेशागत जिल्ला कमिटीका अध्यक्ष उमेश ढकाल, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली र एमालेका केन्द्रीय सदस्य एवं पेशागत महासङ्घका राष्ट्रिय संयोजक बाबुराम थापाले सङ्गठनमा रहेका व्यक्तिले पार्टीका साथै आ–आफ्ना कामको जिम्मेवारी बुझ्दै अघि बढ्ने विश्वास लिएको भनाइ राख्नुभयो ।

महासङ्घका राष्ट्रिय सहसंयोजक दायाराम बस्यालले पेशागत हकहित तथा सुद्धीकरण गर्न सङ्गठन स्थापना भएको जानकारी गराउनुभयो । उक्त कार्यक्रममा मुलुकमा सार्वजनिकरूपमा स्थापना भएका ३१ घटक युनियनका पदाधिकारीको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु