काठमाडौं । आइतबार अर्थमन्त्री पुनः नियुक्त हुनुभएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुग्नुभएका उहाँलाई राजस्व सचिव कृष्णहरि पुष्करसहित सयौँ कर्मचारीले स्वागत गरेका थिए ।

शर्मा मन्त्रालयमा पस्दा जयजयकार कै शैलीमा स्वागत, खैलाबैला र सम्मान व्यक्त गरिएको थियो । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित हुनुभएको छ ।

राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका लागि आएको र मन्त्रालयले उहाँलाई सहयोग गर्ने बताउनुभयो ।

बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।

तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ ।

समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभयो ।

जनार्दन शर्माले आजै अर्थमन्त्रीको पद तथा गोपनियताको सपथ लिएर मन्त्रालय पुग्नुभयो ।

सम्बन्धित खबरहरु