काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहणका बेला बजेट विवाद बारे चुइक्कै बाल्नुभएन ।

आइतबार अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गर्नुभयो ।

लगत्तै उहाँले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दा उहाँले बजेट विवादमा बोल्नै मान्नुभएन ।

मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दा शर्माले बजेट विवादबारे कुनै कुरा राख्नुभएन ।

अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिनुभएको थियो ।

समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई फेरि अर्थमन्त्रीमा सिफारिस गरेको थियो ।

आफूहरुले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाम नै लिएर धन्यवाद दिनुभयो ।

उहाँले कर्मचारीहरुसँग पनि विगतमा झैं सुमधुर सम्बन्ध र सहकार्य गरेर मन्त्रालयको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने छौं ।’

आफ्नो सम्बोधनसँगै कार्यक्रम समाप्त गरेको घोषणा गर्नुभएका शर्माले सञ्चारकर्मीहरुको कुनै प्रश्न भने लिनुभएन । केही सञ्चारकर्मीले प्रश्न गर्न खोज्दा इन्कार गर्दै कार्यकक्षभित्र पस्नुभयो ।

 

सम्बन्धित खबरहरु