काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब पौने ६ बजे पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग१७प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कलाकार नेपालीको निधन
कलाकार सुमनकुमार नेपालीको निधन भएको छ । महोत्तरी जलेश्वर नगरपालिका–५ पहाडी टोल निवासी कलाकार नेपालीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो ।

पथरीको समस्याबाट पीडित रचनाकार तथा सङ्गीतकारसमेत रहनुभएका कलाकार नेपालीले राष्ट्रिय गीत, आधुनिक र भजन गीतमा स्वर दिनुभएको छ ।

उहाँले राष्ट्रिय गीतहरू ‘बाटो बनाऔँ, साथी हो बाटो बनाऔँ’, ‘आकाश पाकी बादलको बुट्टा’, भजनहरू ‘लेऊ शरणमा हामीलाई’, ‘शम्भु शङ्कर जय हरि’ र ‘राम पनि उनै हुन् श्याम पनि उनै हुन्’ र ‘सफर अनौठो यो जीन्दगीको’ (आधुनिक) लगायत एक सय ५० बन्दाबढी गीतमा स्वर दिनुभएको छ ।

२०१८ देखि २०२५ सालसम्म रेडियो नेपाल र २०२५ देखि ३८ सालसम्म राष्ट्रिय नाचघरमा सङ्गीतकारका रूपमा काम गर्नुभएका कलाकार नेपालीको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

सम्बन्धित खबरहरु