
काठमाडौं । पश्चिमी जिल्ला दार्चुलामा अज्ञात रोग फेला परेको छ । त्यहाँको अपिहिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीमा अज्ञात रोग देखा परेको हो ।
विद्यार्थी अचानक बिरामी पर्न थालेपछि पाँच दिन सम्मका लागि पठनपाठन बन्द गरिएको छ । साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकले पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
खण्डेश्वरी माविमा अध्ययनरत छात्रामा पाँच/छ दिनदेखि एक्कासि छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भीडभाडदेखि डराउनेजस्ता लक्षण देखिएको हो ।
विद्यार्थीमा यस्तो समस्या देखिएपछि साउन १३ गतेदेखि १७ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जानकारी गराएको छ ।
यस्तो समस्याबाट ग्रस्तहरुलाई एकान्तमा बस्न तथा धेरै भीडभाड र घुलमिल हुने ठाउँमा आफ्ना नानीबाबुलाई नपठाउनसमेत अभिभावकलाई आग्रह गरिएको छ ।
साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षासमेत अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुपरेको छ । दार्चुलाका विभिन्न विद्यालयमा बेलाबेला यस्तो समस्या देखापर्ने गरेको छ ।