काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएका थिए ।

घटनामा केही प्रमाणहरु फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

घटनास्थलमा ‘सुसाइड नोट’ फेला परेको र उक्त घटना हत्या नभएर आत्महत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ । ‘सुसाइड नोट’बारे भने प्रहरीले केही बताएको छैन ।

स्रोतका अनुसार नोटमा श्रीमान–श्रीमतीको बेमेलबारे केही कुरा लेखिएका छन् । प्रहरीले घरमुली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको अनुमान गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र अहिले केही बोल्न नमिल्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा पाण्डे परिवारका चारजनाको शव फेला परेको थियो ।

दिनेशकी श्रीमती सुनीता पाण्डे, ११ वर्षीय छोरा आशिक र सात वर्षीया छोरी आशिकाको शव एउटा कोठामा भेटिएको हो भने दिनेशको शव अर्को कोठामा भेटिएको छ ।

घटनामा भान्साको चक्कु प्रयोग भएको पाइएको छ । ढोकामा भित्रबाट चुकुल लगाएकाले परिवारभित्रबाटै घटना भएको प्रारम्भीक अनुमान छ ।

घटनाको अनुसन्धानमा काठमाडौं प्रहरीसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय छ ।

सम्बन्धित खबरहरु