काठमाडौं । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आउनुभएको छ ।

नयाँ दिल्लीमा रहँदा उहाँले राष्ट्रपति सोलिहले नवनिर्वाचित भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा दुई देशबीच व्यापार साझेदारी, सुरक्षा तथा कोभिडपछिको अर्थतन्त्र सुधारका बिषयमा समीक्षा गर्ने बताइएको छ ।

माल्दिभ्सका उच्चस्तरीय पदाधिकारी तथा व्यापारिक क्षेत्रका प्रतिनिधिमण्डलसहितको टोलीले सोलिहलाई भ्रमणमा साथ दिनेछन् ।

“नजिकको साथी र सामुद्रिक छिमेकीलाई हार्दिक स्वागत छ ! माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह आधिकारीक भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभएको छ ।

भ्रमणलाई हाम्रा दुई देशबीचको अटल मित्रतालाई थप प्रगाढ बनाउन र बहुआयामिक साझेदारीलाई थप गति दिने अवसरका रूपमा लिइएको छ,” भारतीय विदेश मन्त्रालयद्वारा जारी ट्वीटर सन्देशमा भनिएको छ ।

नयाँ दिल्लीमा औपचारिक भेटवार्ताका अलावा राष्ट्रपति सोलिहले दिल्लीमा एक भारतीय व्यापारिक प्रतिनिधिमण्डलसँग छलफल गर्नुहुनेछ । राष्ट्रपति सोलिह मुम्बई तथा महाराष्ट्रका अन्य प्रमुख स्थान र सहरको भ्रमण गर्नुका साथै कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ ।

माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी हो र यसले भारतको छिमेकी पहिलो नीतिमा विशेष स्थान दिएको छ । हालैका वर्षहरूमा यस साझेदारीमा सहयोगका सबै क्षेत्रमा तीव्र वृद्धि भएको छ।

राष्ट्रपति सोलिहले गत मार्चमा दुई वर्षमा भारतले माल्दिभ्सलाई कोभिड–१९ महामारीको सामना गर्न खोप, औषधिलगायतका अतिआवश्यक वस्तुका लागि गरेको सहयोगको लागि प्रसंशा गर्नुभएको थियो । रासस

सम्बन्धित खबरहरु