काठमाडौं । सरकारी पदको दुरुपयोग बढेको छ ।
सरकारी कामका लागि दिइएको सरकारी सवारी निजी काममा लगाइएको घटना बाहिर आएको हो ।
एक अधिकृत मोटरसाइकल लिएर मसाज सेन्टर छिरेपछि यो कुरा बाहिर आयो ।
नुवाकोट, शिवपुरी गाउँपालिकाका एक सरकारी अधिकृतलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएपछि सरकारी सम्पति दुरुपयोग भइरहेको कुरा बाहिर आएको हो । सो नगरपालिकामा कार्यरत आठौँ तहका अधिकृतलाई नियन्त्रणमा लिइएको छ ।
उनलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२—००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । ललितपुर प्रहरीका अनुसार स्थानीयले सरकारी साधनको गलत प्रयोग भएको भनेर खबर गरेका थिए ।
त्यसपछि सोमबार दिउँसो २ः३० बजे बखुन्डोलमा रहेको गोल्डेन नामक ब्युटी पार्लरबाट प्रहरीले ती कर्मचारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
शिवपुरीका नगर प्रमुख गोविन्द प्रसाद थपलियाले सो मोटरसाइकल नगरपालिकाको भएको कुरा पुष्टि गर्नुभयो । अब थप कारबाही अगाडि बढाइने उहाँले जानकारी गराउनुभयो ।