काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ राई समय समयमा चर्चामा आउनुहुन्छ ।

आफ्नो काम र व्यक्तिवका कारण उहाँ सधैं चर्चा परिचर्चामा रहने गर्नुभएको छ । उहाँले धरानवासीलाई पानी पिलाउनको लागि गरेको प्रयास सबैका लागि उदाहरणीय छ ।

शनिबार वृक्षारोपण कार्यक्रममा पुग्नुभएका मेयर साङपाङ खुलेरै रुनुभयो । स्वतन्त्र उठेर धरानका जनतालाई पानी पिलाउने लामो समयदेखिको सपना देखाउनु भएका मेयर साङपाङ पुराना राजनीतिक दलका उम्मेदवारहरुलाई ठुलो मतान्तरले हराउँदै विजयी हुनु भएको थियो ।

साङपाङ निर्वाचित भएपछि धरानका विभिन्न ठाउँमा पानीको अस्थाई समाधान खोजी हुँदैछ । उहाँ हरेक शनिबार कार्यालय बाहेकका काममा आफैं पुग्नुहुन्छ ।

सोही क्रममा उहाँ शनिबार बिहान ७ बजे सर्दु र निसाने खोलामा वृक्षारोपणका लागि पुग्नु भएको थियो । उहाँले खानेपानीको काम गर्दा होस् वा बोट बिरुवा रोप्दा होस् धराने जनताले भरपुर साथ पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

आफूलाई बाहिरी व्यक्तिहरुको पनि प्रत्यक्ष रुपमा राम्रो साथ दिएको बताउनुभयो । वृक्षारोपणमा उहाँलाई साथ दिन थुप्रै व्यक्तिहरु त्यहाँ पुगेका थिए ।

त्यसै क्रममा धरान सौर्दय प्रतियोगिताका प्रतियोगिहरु पनि बिरुवा लिएर त्यहाँ पुगे । उनीहरुसँग संवाद गर्ने क्रममा आफैले लेखेको गीतको प्रशंग निकाल्दै राई भक्कानिएर रुन थाल्नुभयो ।

रुदैँ उहाँले देशकैं लागि मर्न सकु, देशकैं लागि काम गर्न सकु भनेर गीतको सम्झना गर्नुभयो । आफूजस्तो एक साधारण मान्छेलाई देश तथा विदेशबाट मिलेको समर्थन सोचे भन्दा धेरै भएको भन्दै उहाँ भावुक बन्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकदिन मर्नै पर्छ, देशका निम्ती काम गरेर मर्ने प्रेरणा दिनुस् ।’ उहाँ रोएपछि कार्यक्रम केही समय रोकिएको थियो ।

छोटो समयमा जनताको राम्रो साथ पाउनु भएका मेयर साङपाङले पकुँवा खोलाको पानी ल्याएर मतदातालाई पिलाइसक्नु भएको छ ।

सम्बन्धित खबरहरु