गोरखा । नेपालका केही विकास देख्दा सायद दुनियाँ चकित हुन्छ होला ।

गोरखा नगरपालिकामा बनेको एउटा पक्की पुलले अहिले सबैलाई चकित बनाएको हो । त्यहाँ सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । सडक नभएको मात्र हैन, सडक बन्नै नसक्ने भीरमा पुल बनेको हो ।

गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको छ ।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हुँदा सो पुलको लागि बजेट विनियोजन गर्नुभएको थियो ।

तर सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दै स्थानीय उहाँ प्रति रुष्ट छन् । आवश्यक छलफल र समन्वय पनि नगरेको भन्दै उहाँहरुले आक्रोश समेत व्यक्त गर्नुभएको छ ।

‘पुल बनिरहेको ठाउँमा मेरो खेत पर्छ, त्यही खेत हुदै सडक लानुपर्छ’, स्थानीय कृष्ण बहादुर कुमालले भन्नुभयो, ‘पुल बनाउने बेला हामीसँग एकपटक पनि छलफल गरिएको छैन, अब बाटो चाहिँ कसरी लाने रहेछ हेरौला ।’ खेतबाट सडक लैजान क्षतिपूर्ति दिनुपर्ने उहाँको दावी छ ।

सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन् ।

स्थानीय गणेश कुमार नगरकोटीका अनुसार ‘पुल वारी सबै खेत हो, पारी पातलभीरको जंगल छ, दुवैतर्फ सडक छैन, अनि त्यस्तो ठाउँमा बनाएको पुलमा मोटर चाहिँ कसरी आउँछ ?’

उहाँका अनुसार पुलसम्म सडक जोड्नका लागि जरेबरतर्फ एक किलोमिटर भन्दा बढी र नारेश्वर तर्फ करिब दुई सय मिटर सडकको ट्रयाक खन्नुपर्छ । ट्रयाक नै नखनि त्यहाँबाट सडक लैजान सकिन्छ या सकिदैन नहेरी पहिले पुल बनाइएको छ ।

जरेबरतर्फ खेतीयोग्य जमिन मासेर सडक सञ्जाल जोड्न स्थानीयकै अवरोध देखिन्छ । ‘धान उब्जाएर परिवार पाल्ने खेत यही हो, यही खेत पनि मासेर सडक बनाएपछि हामी कसरी बाँच्ने, कि खेतको पैसा दिनुपर्‍यो’, स्थानीयले माग गर्दै आएका छन् ।

स्थानीयसँग आवश्यक छलफल नगरी एकलौटी ढंगले पुल निर्माणको काम अघि बढाएपनि पुलसम्म सडक जोड्न भने मुश्किल देखिएको छ ।

पुल वारी मन्त्री बस्नेतको खेत रहेको र पारी उहाँको गाउँ भएकाले पनि हतारमा उहाँले उक्त योजनामा बजेट विनियोजन गरेको भन्दै उहाँको आलोचना समेत भएको छ ।

सडक नै नभएको सो ठाउँमा पाँच करोड ३९ लाख खर्चेर पुल निर्माणको काम भइरहेको छ । हालसम्म करिव ९३ प्रतिशत काम सम्पन्न भएको भौतिक पूवार्धार कार्यालय गोरखाका प्रमुख ओमराम ढुंगानाले बताउनुभयो ।

पुल निर्माणको जिम्मा एचटिसी–गणेशकुण्ड–रआईएस निर्माण सेवा जेभीले पाएको हो । २०७७ साल जेठ १३ गते सम्झौता भएर काम सुरु भएको कार्यालयले जनाएको छ ।

२०७९ जेठ १२ गते सक्नुपर्ने उक्त काम करिव अन्तिम चरणमा पुगेको छ । तर सडक नजोडिएकै कारण पुल सञ्चालनमा भने समस्या देखिने भएको छ । सडक नजिक नभएका कारण निर्माण सामाग्री ओसार्न समस्या भएकाले पुलको लागत समेत धेरै भएको छ ।

 

सम्बन्धित खबरहरु