काठमाडौं । लामो समयपछि अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा सैन्य कारबाही गरेको छ । अमेरिकाको ड्रोन हमलामा परेर अलकायदाका नेता अल जवाहिरीको ज्यान गएको हो । गोप्य जानकारी पाएपछि आइतबार दिउँसो नै जवाहिरीमाथि ड्रोन हमला गरिएको थियो, जसमा उनको मृत्यु भयो ।

अल–कायदाका संस्थापक ओसामा बिन लादेनको निधनपछि जवाहिरीले सन् २०११ मा आतंकवादी संगठन अल–कायदाको नेतृत्व सम्हालेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार यो ड्रोन हमला अमेरिकी गुप्तचर एजेन्सी सीआईएको विशेष टोलीले गरेको हो ।

अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान सरकार सत्तामा आएदेखि नै जवाहिरी काबुलमा बस्दै आएका थिए । यसैबीच, तालिबान अमेरिकी कारबाहीलाई लिएर आक्रोशित भएको छ । तालिबानले यस कारबाहीलाई दोहा सम्झौताको उल्लंघन भन्यो ।

अल जवाहिरीको हत्यापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले जवाहिरीलाई फेला पारेर मारेका छौं । हामी अमेरिका र जनतालाई कुनै खतरा छोड्ने छैनौं । हामी अफगानिस्तानमा आतंककारी आक्रमण जारी राख्नेछौं ।’

बाइडेनले यसअघि ट्वीट पनि गर्नुभएको थियो । ट्वीटमा भनिएको छ, ‘शनिबार मेरो निर्देशनमा अमेरिकाले अफगानिस्तानको काबुलमा हवाई आक्रमण गर्‍यो, जसमा अलकायदाका नेता अयमान अल जवाहिरी मारिए । न्याय भएको छ ।’

११ सेप्टेम्बर, २००१ मा, १९ आतंकवादीहरूले ४ व्यावसायिक विमानहरू अपहरण गरेर अमेरिकाको विश्व व्यापार केन्द्रमा आक्रमण गरेका थिए । अमेरिकामा यसलाई ९/११ आक्रमण भनिन्छ ।

यस हमलामा ९३ देशका २ हजार ९७७ जनाको ज्यान गएको थियो । यस हमलामा ओसामा बिन लादेन, अल जवाहिरीलगायत सबै अलकायदा नेताहरू संलग्न भएको अमेरिकी अनुसन्धान एजेन्सीले आरोप लगाएको थियो ।

अमेरिकाले यसअघि पनि जवाहिरीलाई मार्ने प्रयास गरेको थियो । २००१ मा, जवाहिरी अफगानिस्तानको तोरा बोरामा लुकेको जानकारी मिलेको थियो । तर, आक्रमण हुनुअघि जवाहिरी भागेका थिए । त्यस हमलामा उनकी श्रीमती र छोराछोरी मारिए ।

सन् २००६ मा पनि अमेरिकी गुप्तचर एजेन्सीले जवाहिरीलाई सिध्याउन खोजेको थियो । त्यतिबेला उनी पाकिस्तानको दमडोलामा लुकेर बसेको खबर आएको थियो । तर, मिसाइल आक्रमण हुनुअघि जवाहिरी त्यहाँबाट भागेका थिए ।

सम्बन्धित खबरहरु