काठमाडौं । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणकाक्रममा यहाँ आइपुग्नुभएको छ । उहाँको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनाव बढाएको छ ।

सभामुख पेलोसी र उहाँको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उहाँलाई संसदमा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गर्नुभयो । साथै सभामुखद्वयबीच भेटवार्ता पनि भयो । सभामुख पेलोसीले प्रधानमन्त्री इस्माइल साबरी याकोबसँगको दिवाभोजसहितको बैठक भो स्थगन गर्नुभएको छ ।

 

सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले उहाँ आज राति ताइपेई पुग्ने समाचार सार्वजनिक गरेका छन् । सभामुख पेलोसी ताइपेइ पुगेमा २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उहाँ उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुनुहुनेछ ।

अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ताइवानका तीन ठूला राष्ट्रिय समाचारपत्र युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्सले उहाँ मलेसियाको भ्रमणपछि ताइपेई पुग्ने र रात त्यही बिताउने कार्यक्रम रहेको खबर प्रकाशन गरेका छन् ।

चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ ।

बेइजिङले सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ । चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने छ जसले जसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्नेछ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संल्गन हुन नचाहेको स्पष्ट गरेको छ ।

राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयम् सभामुख पेलोसीको भएको बताउनुभएको छ । उहाँले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गर्नुभएको स्मरण पनि गराउनुभएको छ ।

सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू चिन्तित भएका बताउनुभएको छ ।

लामो समयदेखि अभ्यासमा रहेको तथा अमेरिकी नीतिअनुरूप सभामुखको सम्भावित भ्रमणलाई बहाना बनाएर बेइजिङले कुनै प्रकारको सङ्कट खडा गर्ने वा ताइवान वा त्यसको वरपर आक्रामक सैन्य गतिविधि नबढाउने रूपमा विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सभामुख पेलोसीको भ्रमण अगाडि बढेको अवस्थामा चीनलाई जिम्मेवार ढङ्गले काम गर्न आग्रह गर्नुभएको छ ।

यदि उहाँले भ्रमण गर्ने निर्णय गरेमा चीनले कुनै प्रकारको सङ्कट सृजना गर्ने वा अन्यथा तनाव बढाउने प्रयास गरेमा त्यो पूर्ण रूपमा बेइजिङको जिम्मेवारी हुने बताउनुभएको छ ।

उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै सभामुख पेलोसीलले ताइवान भ्रमण गर्ने निर्णय गरेमा जिम्मेवार भएर प्रस्तुत हुन र द्वद्व चर्काउने गतिविधि नबढाउन बेइजिङलाई अनुरोध गर्नुभयो ।

अमेरिकी अधिकारीहरूले भने सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने बताएका छन् ।

सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एकजना अमेरिकी अधिकारीले नौसेनाको विमान वाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएका बताएका छन् ।

रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिङ्गापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन् । बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ ।

बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन् ।

सभामुख पेलोसीले सोमबार सिङ्गापुरबाट एसियाली राष्ट्रको भ्रमण सुरु गर्नु भएपनि उहाँको सम्भावित ताइवान भ्रमणले यस क्षेत्रमा सनसनी मच्चाएको छ । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले पेलोसीसँगको वार्तामा क्षेत्रीय शान्ति र सुरक्षाका लागि स्थिर अमेरिका–चीन सम्बन्धमा जोड दिनुभएको थियो ।

जापानका विदेशमन्त्री योशिमासा हयाशीले पनि सिङ्गापुरका प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्दै दुई प्रतिद्वन्द्वी शक्तिबीचको स्थिर सम्बन्ध अन्तर्राष्ट्रिय समुदायका लागि अति महत्वपूर्ण हुने बताउनुभएको छ ।

फिलिपिन्सले अमेरिका र चीनलाई यस क्षेत्रमा ‘जिम्मेवार नायक’ हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता टेरेसिटा डाजाले थप तनावबाट जोगिन अमेरिका र चीनले निरन्तर सञ्चार सम्पर्क सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग–वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।

आगामी बिहीबार सभामुख पेलोसीले दक्षिण कोरियाली राष्ट्रियसभाका सभामुख किम जिन प्योसँग एशिया–प्रशान्त क्षेत्रको सुरक्षा, आर्थिक सहयोग र जलवायु सङ्कटबारे सोलमा वार्ता गर्ने सभामुख किमको कार्यालयले जनाएको छ । सभामुख पेलोसी जापान भ्रमणमा पनि जानुहुनेछ यद्यपि उहाँ कहिले त्यहाँ पुग्नुहुन्छ भन्ने स्पष्ट खुलाइएको छैन । रासस

सम्बन्धित खबरहरु