काठमाडौं । अध्यागमन कार्यालयले जर्मनकी एक युवतीलाई नेपाल प्रवेशमा रोक लगाएपछि स्वदेश फर्किएकी छिन् । सँगै आएका पतिसमेत फर्किएका छन्। कतार एयरको उडान नम्बर ६५२ बाट सोमबार काठमाडौं ओर्लिएका एक जर्मन दम्पती नेपाल प्रवेश गर्न नपाई फर्किएका हुन्।

जर्मन दम्पती अमन पल सर्ना र उनकी पत्नी नेहा सर्ना कपुर विमानस्थलबाटै फर्किएका हुन्। अमन भारतीय मूलका हुन भने नेहा अफगानिस्तान मूलकी जर्मन नागरिक हुन्।

अमनले जर्मनको राहदानी पाइसकेका छन्। तर, नेहासँग जर्मन सरकारले जारी गरेको ट्राभल डकुमेन्ट मात्र रहेको छ। सोही ट्राभल डकुमेन्टका आधारमा नेहाले नेपाल प्रवेश गर्न खोजेपछि अध्यागमनका अधिकारीहरुले उनलाई रोकेका थिए।

ट्राभल डकुमेन्ट अस्थायी प्रकृतिको हुने भएकाले त्यसमा नेपालको आगमन भिसा दिन नमिल्ने भनेपछि नेहा फिर्ता जान तयार भएकी थिइन्। अध्यागमनले नेहालाई नेपाल प्रवेशमा रोक लगाएपछि उनका पति अमन एक्लै नेपाल प्रवेश गर्न चाहेनन्।

पत्नीको साथ छाड्न नमानेपछि विमानस्थलका अध्यागमनका अधिकारीहरुले अमन र नेहा दुवै जनालाई कतार एयरसँग समन्वय गरी फिर्ता गरेका थिए। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले ट्राभल डकुमेन्ट भएकाले जर्मन युवतीलाई नेपाल प्रवेशमा रोक लगाइएको बताउनुभयो ।

नेहा जर्मन सरकारले जारी गरेको एचजेड०८२०३०६एच नम्बरको ट्राभल डकुमेन्टमा यात्रा गरेकी थिइन्। नेहालाई प्रवेशमा रोक लगाइए पनि उनकी पति अमन एक्लै नेपाल प्रवेश गर्न नचाहेको अध्यागमनका अधिकारीहरुले जनाएका छन्।

सम्बन्धित खबरहरु