काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा विदेशी विशेष गरेर भारतीय चलचित्रहरुले बजार लिएको आरोप लाग्ने गरेको छ ।

तर नेपाली चलचित्र ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुँदैछ । उक्त चलचित्र नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको हो ।

भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जानकारी गरायो ।

निर्माण पक्षका अनुसार जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले ‘प्रेमगीत ३’ लाई भारतभर प्रदर्शन गर्न लागेका हुन् । अर्कोतिर, रिलिजको आठ सातापछि फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने छ ।

यसअघि ‘विश्वजीतम्’ शीर्षकमा भारतमा फिल्मलाई रिलिज गर्ने बताइए पनि शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ ।

चलचित्र निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेको हो । जानकारी अनुसार मधु इन्टटेनमेन्ट र यूएफओले चलचित्रलाई नेपालबाहेक विश्वभर रिलिज गर्नेछ ।

सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर आउने छ । सेन र छेतेन गुरुङले निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्र भारतमा पनि प्रदर्शन हुन लागेको भन्दै सामाजिक सञ्जालमा धेरैले खुःशी व्यक्त गरेका छन् ।

 

सम्बन्धित खबरहरु