काठमाडौं । अत्यन्तै व्यस्त सडक मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानदेखि फेरि अबरुद्ध भएको छ ।

पहिरो पन्छाएपछि २३ घण्टापछि खुलेको सडकमा फेरी ठूलो पहिरो आएर लामो समय अवरुद्ध रहने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज बिहान साढे २ बजेतिर भरतपुर २९ केराबारी क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेकाले बाटो खुल्न अझै एक–दुई घण्टा लाग्ने छ ।

लामो समय जाममा परेका यात्रुहरु गएराति ९ बजेतिर बाटो खुलेपछि गन्तव्यमा गइरहेका थिए । तर फेरि पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले खानेकुराको र पानीको समस्या परे प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

प्रहरी नायव निरीक्षक डिएसपी अधिकारीले भन्नुभयो, ‘हामीलाई खबर गरेमा अति नै समस्या परेकाहरुलाई सक्दो सहयोग गरिरहेका छौं, फेरि पनि गर्ने छौं ।’

उहाँले नजिकका प्रहरीलाई वा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने पनि बताउनुभयो ।

प्रहरीले सवारी चालकहरुलाई पनि होटल र वस्ती भएका स्थानमा मात्र गाडी रोक्न र बाटो खुलेपछि मात्रै आलोपालो गन्तव्यमा जान आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबरहरु