काठमाडौं । केही दिन अघि छोरी नितिशा बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभयो, "मेरो बुबा आफ्नो सैन्य समयमा, आफ्नो निःस्वार्थ, मानवीय र सच्चा देशभक्ति सेवाको एक हिस्साको रूपमा रहेको देखे ।" ७००० भन्दा बढी जीवनको उद्धार गर्न सक्षम एक "सच्चा नायक" !!

यी शब्द नेपाली सेनाका सेवानिवृत्त प्रमुख सेनानी (लेउटेन्ट कर्णेल) पाइलट रविन्द्र बस्नेतका लागि छोरी नितिशाले लेख्नुभएर मात्र हैन । आज आम नेपालीले भन्छन् हज्जारौलाई पुनः जीवन दिने रविन्द्र बस्नेतलाई सल्यूट !!

कोभिड– १९ महामारीका सङ्क्रमितलाई हेलिकप्टरबाट गरिने उद्दार सर्वाधिक चुनौतीपूर्ण कार्य हो । सानो ठाउँको फरकमा सङ्क्रमितसँगै बस्नुपर्ने भएकाले सङ्क्रमण सर्ने खतरा अत्याधिक हुनु स्वाभाविक नै हो । पाइलटहरु पनि मानिस नै हुन् ।

सङ्क्रमितको उद्दारमा खटिंदा आफू पनि सङ्क्रमित भइने हो कि भन्ने डर हुनु स्वाभाविक हो । तर, क्याप्टेन रवीन्द्र बस्नेतले नेपाली सेनामा रहँदा पहिलो पटक कोभिड महामारी फैलिएका बेला दुर्गम स्थानका सङ्क्रमितको उद्दारका लागि हेलिकप्टरको प्रयोगलाई प्रोत्साहन गर्नुभयो ।

उहाँले सङ्क्रमितको पहिलो उद्दार उडानको सुरुवात गरेर अरु विमान चालकलाई हौसला दिनुभयो । सायद उहाँले हिम्मत नगरेको भए त्यो बेला भयावह बनेको सङ्क्रमितलाई गरिने हेलि–उद्दार हुन्थ्यो कि हुन्थेन यसै भन्न सकिन्नथ्यो ।

देश, पेशा र एउटा सिपाही हुनुको कर्तव्यबोधले आफूलाई जोखिमपूर्ण उडानप्रति आत्मविश्वास र उत्साहित बनाउने गरेको बताउने पाइलट रवीन्द्र बहादुर बस्नेतलाई कालापानी (छाङरु) मा सशस्त्र बोर्डर आउट पोष्ट र सेनाले त्यस क्षेत्रमा सडक निर्माणका लागि स्थापना गरेको क्याम्पमा उडानको जिम्मा दिइयो ।

जुन धेरै नै चुनौतीपूर्ण थियो । दिइएको जिम्मेवारी पछि नहट्ने बानी पर्नुभएका रवीन्द्र देशकै दुर्गम स्थानमा स्थापना गर्न लागिएको सशस्त्रको आउट पोष्ट र सेनाको क्याम्पका लागि उडान भर्न उत्साहपूर्वक खट्नुभयो । त्यहाँ स्थापना गरिएको आउटपोस्ट र क्याम्प देशको आत्मगौरव त छँदै थियो, क्याम्प र पोस्ट स्थापनाका लागि स्थानीयबाट देखाइएको उत्साह र सक्रिय सहयोग अविष्मरणीय रहेको उहाँको अनुभव छ ।

देशको सीमा रक्षाका लागि अतिदुर्गममा बसोबास गर्ने तर राज्यबाट खासै सुविधा नपाएका स्थानीय नागरिक कति सचेत र जागरुक रहेछन् भन्ने कुरा क्याम्प स्थापनाका क्रममा देखिएको उत्साह र सक्रिय सहभागिताले पुष्टि गरेको अनुभूति आफूलाई भएको स्मरण उहाँ सुनाउँनुहुन्छ । उहाँ आफूले गरेको कार्यको प्रचार गर्न रुचाउनुहुन्न । यसैले सेवानिवृत्त हुँदासम्म आमसञ्चारमा समेत खासै यी विषय आएनन् ।

शब्दमाभन्दा कर्ममा जोड दिने मान्यतामा विश्वास भएको बताउने पाइलट रवीन्द्रले सात हजारभन्दा बढी मानिसको उद्दार कार्य गरी असाधारण कार्य गर्ने व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ । तर, यति धेरै मानिसको जीवन जोगाउन योगदान दिनुभएका र सेवाप्रतिको समर्पणभाव रहेका उहाँजस्ता पात्रका सुकार्यका बारेमा विषय उठान गर्ने जमर्को यहाँ गरेका छौ ।

नेपालको जटिल भौगोलिक अवस्थाका कारण हवाइ उडान आफैंमा निकै चुनौतीपूर्ण कार्य हो । मौसममा हुने द्रूत फेरवदलका कारण वर्षातको समयमा उडान र उद्दार कार्य निकै कठिन र जोखिमपूर्ण हुन्छ । तर, यस्ता जटिलतालाई पनि सहज रुपमा स्वीकार गर्न सक्ने क्याप्टेनको लगनशिलता र अनुभव खासगरी हवाइ उद्दारको क्षेत्रमा एक उदाहरणीय र महत्वपूर्ण रहेको छ भन्दा अत्युक्ति हुँदैन ।

कोभिडजस्तो महामारीमा फराकिलो छाती र उच्च सोचाइले मात्र कोभिडविरुद्धको लडाइँलाई सफलतामा पुर्याउन सकिन्छ भन्ने कतिपय देशले यो महामारीमाथि हासिल गरेको विजयलाई हामीले अनुशरणमात्र गर्न सके पनि पर्याप्त हुन्छ भन्ने मान्यता राख्ने क्याप्टेन रवीन्द्र कताकता हामी चुकेका त छैनौं भन्ने प्रश्न गर्नुहुन्छ ।

२०७२ साल बैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको महाभूकम्प र पराकम्पबाट अतिप्रभावित जिल्लाहरुमा उद्दारका लागि सरकारले नेपाली सेना परिचालन गर्यो । भूकम्प प्रभावितको उद्दारका लागि नेपाल आएको अमेरिकी सेनाको हेलिकप्टर त्यही बेला दोलखाको उत्तर पश्चिम क्षेत्रमा सम्पर्कविहीन भयो । हेलिकप्टरमा नेपाली सेनाका दुई र अमेरिकी छसहित गैरसैनिक थिए । दुर्घटनामा परेको आशंका गरिएको अमेरिकी हेलिकप्टरको खोजी गर्नु पर्ने बाध्यता आइलागेको थियो ।

हेलिकप्टर दुर्घटना भएको देख्ने एक जना चौंरी गोठालो पेम्बा शेर्पाले सम्पर्क गरेर हेलिकोप्टर दुर्घटनाको खबर दिएपछि बस्नेत खोज्न हेलिकोप्टरमा जानुभयो । तिनै चौंरी गोठालासँगको समन्वयमा क्याप्टेन रवीन्द्र बहादुर बस्नेतले अमेरिकी हेलिकप्टर दुर्घटनास्थल पहिचान गर्न सफल हुनुभएको थियो । उहाँले तत्कालै दुर्घटनास्थलबारे नागरिक उड्डयन प्राधिकरण (काठमाडौं टावर) लाई पहिलो जानकारी दिएको स्मरण गर्नुहुन्छ ।

केही वर्षअघि कोशी ब्यारेज फुटेर भयावह अवस्था सिर्जना भयो । त्यस क्षेत्रमा नेपाल र भारतको भूभाग जलमग्न हुँदा उहाँ नै उद्दारमा खटिनुभयो । त्यतिबेलाको अनुभव उहाँका लागि अविष्मरणीय छ । उहाँले सम्झिदै भन्नुभयो, ‘त्यो क्षेत्र समुद्रजस्तो देखिन्थ्यो । त्यहाँ उद्दारका लागि एमआई १७ हेलिकप्टर लिएर पहिलो पटक म नै पुगेको थिएँ । डुबानले घरहरु पनि देखिंदैन थियो । मानिसहरु केही नडुबेका घरका छत र रुखहरुमा उद्दारको पर्खाइमा थिए । आफ्नो मृत्युको भयावह तस्वीर आफ्नै देखिरहेका पीडितहरुको उद्दार गर्न पाउँदाको त्यो क्षण शब्दमा व्यक्त गर्न सकिन्न । रुखमा झुण्डिएर र घरको छतहरुमा मृत्युको सम्मुख रहेकाहरुलाई उद्दार गर्दा त्यस्तै अवस्था भोगिरहेका अन्य कयौंमा पनि जीवनको आशा पलाएथ्यो होला ।’

नेपाली सेनामा रहेर र पाइलट पेशामा रहेर यस्ता कयौं उद्दार कार्यमा संलग्न हुन पाउँदा आफूलाई अथाह आनन्दानुभूत हुने गरेको बताउने रवीन्द्रले थुप्रै साहसिक अनुभव संगाल्नुभएको छ । सन् २०१६ सेप्टेम्बर २७ मा नेपाली सेनाका १६ जना सैनिक हिउँ पहिरोमा फसेका थिए । मुस्ताङ जिल्लामा रहेको टुकुचे हिमालमा रहेका उनीहरुको उद्दार पनि उहाँकै कमाण्डमा भएको रहेछ । हिमाल होस् वा तराई, पहाड होस् वा उपत्यका भूकम्प, बाढी, पहिरो, हिमपहिरो, दुर्घटना, आगलागीका बेला रातको समयमा समेत सधै अग्रसर रहेर उद्दारमा खटिने उहाँको जाँगरलाई सलाम भन्नैपर्छ !!

त्यतिमात्र होइन, बच्चा पाउन नसकेकी एक जना महिलाको रोल्पा थवाङबाट उद्दार गर्नुपर्यो । आमा र बच्चाको जीवन निकै जोखिमपूर्ण मानिएको अवस्था तथा प्रतिकूल मौसमका बीच पनि उहाँले त्यो उडानलाई स्मरण गर्दै भन्नुहुन्छ, ‘जोखिम मोलेर नै ल्याएँ । छोरा भए ‘पाइलट’ र छोरी भए ’प्राप्तिका’ नामाकरण प्रस्ताव गरेको थिएँ । प्रसूति गृहमा बच्चा जन्मिएको, राम्रो भएको तथा छोरो जन्मिएकोले उनको नाम ‘पाइलट मगर’ नै राखेको बच्चाको बुबाले पछि थबाङबाट फोन गरेर जानकारी दिंदा धेरै नै खुशी र सुखानुभूत भयो ।’ ‘मृत्युले निकटबाट पछ्याएका आमा र बच्चाको जीवन बचाउने काममा आफ्नो भूमिका पूरा गर्न पाउँदा कसलाई पो खुशी नलाग्ला’ गम्भीरतासहित उहाँ मुस्कुराउनुभयो ।

उद्दार र हवाइ व्यवस्थापनमा १५–१६ वटा राष्ट्रिय–अन्तर्राष्ट्रिय कोर्स गर्नुभएका प्रशिक्षक पाइलट रवीन्द्रले नेपाली सेनाबाट हालै अवकाश लिनुभएको छ । हवाइ क्षेत्रमा लामो समयको अनुभव हासिल गर्नुभएका उहाँले नेपाल वायु सेवा निगम (एन.ए.सी.) मा व्यवस्थापकीय र प्रशासनिक रुपमा जटिल समस्या देखेको बताउँनुहुन्छ । राष्ट्रिय ध्वजाबाहकको सञ्चालन राज्यले नै गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

नेपाल वायु सेवा निगममा प्राविधिक र प्रशासनिक दक्ष पाइलट रवीन्द्रजस्तै अनुभवी र राज्यका लागि केही योगदान गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्तिहरुलाई जिम्मेवारी दिन सके परिणाममुखी नतिजा अवश्य निस्कन्थ्यो ।

दक्षिण एसियाली देशमा बंगलादेशमा राष्ट्रिय ध्वजावाहक अर्धसरकारी भएको र बाँकी देशमा राष्ट्रिय ध्वजावाहक सरकारले नै सञ्चालन गरिरहेको छ । नेपाल एयरलायन्सलाई पनि राम्रो बनाउन सकिन्छ भन्दै उहाँ थप अगाडि भन्नुहुन्छ, ‘मोडालिटी कुन अपनाउने भन्ने हो । इथोयोपियाको मोडालिटी पनि हाम्रो सन्दर्भमा राम्रो हुनसक्छ । पछिल्लो समयमा इथोपियन एयरलाइन्सले एकदम द्रूत गतिमा विकास गरेको छ ।’

 

सम्बन्धित खबरहरु