काठमाडौं । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुस रकमसहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई बुधबार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।

कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले श्रेष्ठ प्रधानलाई रंगेहात पक्राउ गरेको हो ।

यसअघि मंगलबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई साढे २२ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।

सर्वसाधारण ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ ।

सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ ।

आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएकोे भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए ।

मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरुविरुद्ध ठगी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु