काठमाडौं । मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा व्यापक अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जना विरुद्ध विशेष अदातलमा बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि विगो कैद र जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको हो ।

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो ।

गत वर्ष असोजमा अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ थालेका थिए । यो अभियानअन्तर्गत बालिकाहरुलाई साइकल वितरण गर्ने कार्यक्रम थियो ।

सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवम् हानी नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । उनीहरुमाथि १० करोड ३३ लाख भ्रष्टाचार गरेको आरोपमा छ ।

प्रदेश सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिएकोले खरिद प्रकृयामा संलग्न कर्मचारीहरुलाई सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

सम्बन्धित खबरहरु