विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राजनीतिक अखडा हुनबाट मुक्ति पाउँन सकेन ।

राजनीतिक दलहरुको भर्ति केन्द्र बन्द यसको भनेजस्तो उपलब्धि हासिल गर्न सकेको छैन ।

चर्को विवादमा परेपछि राजीनामा दिएर पद रिक्त भएको रजिष्टार पदमा सूर्य संग्रौला नियुक्त हुनुभएको छ । उहाँ नेपाली कांग्रेस सांसद डिला संग्रौलाका श्रीमान हुनुहुन्छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गर्नुभएको हो ।

प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले विवादमा परेपछि २०७८ भदौ ११ गते राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा गत भदौ २४ गते स्वीकृत भएको थियो । त्यसयता सो पद खालिरहेको थियो ।

संग्रौला पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नियन्त्रक हुँदा विवादित बन्नुभएको पात्र हो ।

प्रधानमन्त्री शेर बहादुर देउवानिकट रहनुभएकी डिला संग्रौला मन्त्री बन्ने दौडमा हुनुहुन्थ्यो । उहाँले मन्त्री पद नपाएपछि देउवासँग श्रीमानलाई रजिष्टार नियुक्त गर्न दवाब दिएको बुझिएको थियो ।

स्वास्थ्यमन्त्री खापुङले प्रधानमन्त्री देउवाको दवाबमा संग्रौलालाई नियुक्त गरेको स्वास्थय मन्त्रालयका एक कर्मचारीले पुष्टि गर्नुभयो ।

यसैगरी प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त हुनुभएको छ । यसअघि उहाँ अस्पतालका सहायक निर्देशक हुनुहुन्थ्यो ।

उहाँ कुलपति डा. गिरीको कोटाबाट अस्पतालको निर्देशक पदमा नियुक्त भएको स्रोतले पुष्टि गरेको छ । उहाँ गिरीका विश्वास पात्रका रुपमा चिनिनुहुन्छ ।

 

सम्बन्धित खबरहरु