काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी अमेरिका उडेकी छिन् । उनी कतार एयरवेजमार्फत अमेरिकातर्फ उडेकी हुन् ।

मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु उनी अमेरिका गएको स्रोतले बताएको छ ।

साथै आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनपनि उनी त्यहाँ गएको बुझिएको छ ।

प्रियंकाले आफ्नो अमेरिका भ्रमण आगामी मिस वर्ल्डको तयारी खास रहेको बताइन् । उनले बिजुली नपुगेको गाउँमा दुई तीन वर्षसम्मको लागि सोलार जडान गर्ने परियोजना मिस वर्ल्डमा प्रस्तुत गर्दैछिन् ।

उनी यो प्रोजेक्ट अमेरिकामा चिनाएर यसका लागि रकम जुटाउन पहल गर्नेछिन् ।

‘यही कारण मिस वर्ल्डको तयारीको यात्राको रुपमा मैले लिएकी छु । यहींबाट पोखरा जाँदा त न्यास्रो लाग्छ, तर देश छाडेर जाँदा अलिकति न्यास्रो लागे पनि देशलाई प्रतिनिधित्व गर्न जान लागेकोमा खुशी छु,’ उनले भनिन् ।

आफ्नो अमेरिका भ्रमण आफूजस्तै युवतीलाई ‘पेजेन्ट’को महत्व चिनाउन र देशको परिस्थिति बुझाउन पनि महत्वपूर्ण हुने प्रियंकाले बताइन् ।

मिस नेपाल आयोजक द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता भएपछि मिस नेपालको सहभागिता त्यहाँ हुन लागेको हो । मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता भएको छ ।

सोहीअनुसार प्रतियोगी छनोट गर्ने अवसर पनि प्रियंकालाई हुनेछ । हिडन ट्रेजर निर्देशक सुवर्ण क्षेत्री पनि उनीसँगै अमेरिका प्रस्थान गरेका छन् । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतिस्पर्धा आगामी आइतबार हुँदैछ ।

सम्बन्धित खबरहरु