काठमाडौं । पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो ।

वडा नं ६ ठूलोदुम्मामाकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताउनुभयो । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान भने धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकी छु तर भत्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।”

बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उहाँले अनुभव सुनाउनुभयो । राईले भन्नुभयो, “बैंकमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ । हामीजस्ता बूढाबूढी देखेपछि बसवालाले पनि ठग्न खोज्छन् । त्यसमाथि बैंकमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट हुन्थ्यो । अब भने धेरै सहज भएको छ ।”

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलवासी भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ । ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या छ । यो कार्यलाई चौमासिकरुपमा सबै वडामा सञ्चालनमा ल्याएका छौँ । अब उहाँहरुले आफ्नो घर पायक पर्ने ठाउँबाट भत्ता पाउनु हुन्छ ।”

हालसम्म गाउँपालिकाभरि एक हजार चार सय ७१ जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “खासमा उहाँहरुलाई भत्ता लिनको लागि आउन हुने समस्यालाई ध्यानमा राखेर कामको थालनी गरेका छौँ । वृद्धवृद्धा तथा अशक्तलाई त यहाँ आउन धेरै कठिन छ । नागरिकको यहाँसम्म आउँदा यातायातलगायतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको छ । रासस

 

सम्बन्धित खबरहरु