काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सरकारले तोकेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी सुरु गरिसकेको जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन मिति आकस्मिक नभएर अपेक्षित र नियमित भएको भएको भन्दै निर्वाचनको तयारी सुरु गरिसकेको जनाएको हो । उक्त निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने सम्भावना रहेको आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिको निर्वाचनपछि अहिलेसम्म करिव १० लाख मतदाता बढ्ने अनुमान रहेको बताउनुभयो । निर्वाचनको मिति घोषणा भएसंगै मतदाता नामावली संकलन कार्य बन्द गरिएको थपलियाको भनाई छ ।

निर्वाचनका लागि १ सय ७ दिनको अवधि भएपनि मंसिर ४ गतेको दिनलाई अर्जुन दृष्टि लगाएर काम गर्ने भन्दे उहाले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तयारी गरिसकेको बताउनुभयो ।

उहाले मतदाता शिक्षालाई प्रभावकारी बनाइने र मतपत्र तथा मतपेटिका फरक फरक हुने भएकाले मत बदर हुने सम्भावना कम हुने जिकिर गर्नुभयो । थपलियाले संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिने राय दिएको बताउनुभयो ।

उहाले आगामी निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर र समान खेलमैदान हुनुपर्ने आफूहरुको मान्यता रहेको धारणा पनि राख्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सहज सूचनाको पहुँचका लागि आयोगमा प्रेस केन्द्र स्थापना गरिने जानकारी दिनुभयो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

https://youtu.be/DFsNQs7zpg0

सम्बन्धित खबरहरु