काठमाडौं । नेपाल प्रहरीमा आज एक गर्विलो क्षणको संयोग देखिएको छ । बाबु–छोराको काँधमा एकैदिन डीएसपी पदको फूली चढेको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न लगाउनुभएको हो ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाउँदा उहाँहरुपनि पर्नुभयो ।

राजेन्द्र अधिकारी र उहाँका छोरा ध्रुव अधिकारीले एकसाथ एकै ठाउँमा प्रहरी अधिकारीको दर्जा पाउँनुभयो । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा हुनुभएको थियो ।

यो संयोग दुर्लभ नै हो । एक प्रहरी अधिकारीले भने फरक फरक समयमा बढुवा भएर बाबु छोरा नै प्रहरीको उच्च अधिकारीको पदमा रहेको इतिहास छ तर एकैदिन चै यो सम्भवत दुर्लभ संयोग हो ।

उहाँहरुसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिनुभएको थियो ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना हुनुभएको थियो । ध्रवले ४ बर्षमा नै बढुवा पाउँनुभयो । प्रहरीमा प्राविधिकतर्फ चाँडो बढुवा हुन्छ ।

ध्रुवका बुबा राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा हुनुभएको थियो । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएपनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने संयोग मिलेको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ–आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो ।

उहाँले संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यवसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्न निर्देशन दिनुभएको थियो ।

सम्बन्धित खबरहरु