काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गका शब्द सापटी लिने हो भने आजबाट वर्तमान सरकार कामचलाउन बनिसकेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावको मिति घोषणासँगै कामचलाउमा परिणत भएको हो ।

महत्वकांक्षी निर्णय र नियुक्तिका काम यो सरकारले गर्न पाउँदैन । अब विदा हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गर्नुभएको छ ।

असंलग्न परराष्ट्र नीतिबाट सरकार धर्मराएको आरोप लागिरहेका बेला देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आउनुभएका सुवेदीलाई सल्लाहकार छनोट गर्नुभएको छ ।

तर नेपालको संविधानमा नै नेपालको परराष्ट्र नीति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त अन्तर्राष्टिर्य कानून र विश्वशान्तिको मान्यतामा आधार रहेर राष्ट्रको सर्वोपरी हितमा ध्यान राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख छ ।

तर देउवाले संलग्नता देखाउँदै आउँनुभएको छ । राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले ‘युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा’ गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि आफ्नो देशको संविधानमा किटान गरिएको नीतिमा सरकार नै अडिग भएन ।

यसलाई लिएर विपक्षी मात्र होइन, सत्तारुढ दलहरुले नै असन्तुष्टि जनाएका थिए । प्रमुख प्रतिपक्षी एमालेले सरकारमाथि असंलग्न परराष्ट्र नीतिबाट विमुख भएको आरोप लगाएको छ ।

रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा गरेको मतदानमा निरन्तर प्रश्न उठेपनि मौन बस्नुभएका देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आउनुभएका सुवेदीलाई छनोट गर्नुले झनै चिन्ता बढाएको छ ।

देउवाको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई, गेजा शर्मा वाग्ले लगायतको चर्चा थियो ।

उच्च तहका विदेशी पाहुनाको नेपाल भ्रमण आउँदा देउवाले २०७४ सालमा आफू प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकार समेत रहेका भट्टराईसँग आवश्यक परामर्श गर्दै आउनुभएको थियो । २०७७ को पुस र हालसालै भएको चिनियाँ टोलीको भ्रमणका क्रममा पनि देउवाले भट्टराईलाई सहभागी गराउनुभएको थियो ।

तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेपछि फरक चर्चा सुरु भएको छ ।

को हुन् सुवेदी ?

धनकुटाको कुरुलेमा जन्मिनुभएका सुवेदीले त्रिचन्द्र क्याम्पसबाट रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

२०३७ सालमा कांग्रेसको भ्रातृ संस्था नेविसंघमा आवद्ध उहाँ २०४० सालमा धनकुटाको अध्यक्ष बन्नुभएको थियो । कांग्रेसका पुराना नेताहरुका अनुसार सुवेदीले २०४६ सालको जनआन्दोलनअघि नै कांग्रेस छोडिदिनुभएको थियो ।

सुवेदीले विभिन्न जलविद्युत आयोजना, घरजग्गा कारोबार, पोखरा–मुक्तिनाथ केबलकार लगायतका परियोजनामा लगानी गर्नुभएको छ ।

सम्बन्धित खबरहरु