काठमाडौं । अष्ट्रेलियाको संसदमा एक दुर्लभ दृश्य देखा परेको छ । त्यहाँकी एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला एक रोचक घटना घटेको हो ।

उनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि तनाव भएको थियो । जसकारण उनले पुनः दोहोर्याएर शपथ लिनुपर्यो ।

आदिवासी सांसद लिडिया थोर्पले शपथपत्रमा आफूखुशी केही शब्द थप्दै बोलेकी थिइन् । सोही क्रममा उनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी थिइन् ।

शपथग्रहण स्थलतर्फ पुग्दा उनको दायाँ हात माथि उठाउँदै मुठ्ठी कस्दै थिइन् । शपथ लिदैँ उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’

उनले यति कुरा बोलेपछि संसदमा हंगामा भयो । अनी सभामुख सु लाइन्सले रोकेर शपथको व्यहोरामा लेखिएका शब्दमात्र बाचन गर्न अनुरोध गरिन् । त्यसपछि लिडिया थोर्पले दोहोर्‍याएर शपथ लिनु परेको हो ।

शपथ लिइसकेपछि उनले संसदमा मुठ्ठी उठाएको आफ्नो तस्वीर ट्वीट गरेकी छिन् । तस्वीर राख्दै उनले ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ भन्दै लेखिन् । गत साता सांसदहरुको शपथ ग्रहणमा उनी अनुपस्थित भएका कारण एक्लै शपथ लिनु परेको हो ।

थोर्प, अष्ट्रेलियाको भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीको तर्फबाट संसदमा प्रतिनिधित्व गर्छिन् ।

९६ वर्षीया रानी एलिजाबेथ अष्ट्रेलिया राज्यको प्रमुख हुन्छिन् । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ । सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भयो तर अझै पूर्ण गणराज्य बन्न सकेको छैन ।

सम्बन्धित खबरहरु