काठमाडौं । अहिले नेपालको छिमेकी मित्र राष्ट्र चीन तनावमा छ ।

आफ्नो भूमि दावी गरिरहेको ताइवानमा विश्व शक्ति राष्ट्र अमेरिकाले खुल्ला रुपमा चुनौती दिँदै छातीमा बुट बजारेपछि संकटमा परेको हो । यही आवेगलाई नियन्त्रण नगरौँ भने अमेरिकाको डर चीनलाई छ ।

नियन्त्रण गरौँ भने आफ्नो स्वाधिनतामाथी कसैले सिँधा धावा बोलेको छ । यसैले ताइवानमा चीनले संघर्ष बढाएको छ ।

तर यही बेला अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ । उसले ठाडो भाषामा भनेको छ संकट निम्त्याए सिँधा आक्रमण हुनसक्छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले तनावले चीन तथा यस क्षेत्रका कसैको पनि हित नहुने बताउनुभयो । साथै उहाँले अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको जनाएको छ । तर चीनले पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको र सैन्य गतिविधि आवश्यक भएको समेत जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

हिजोदेखि ताइवान आसपासको क्षेत्र जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास भइरहेको छ । यो अभ्यास सोमवारसम्म चल्नेछ । चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

यो सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ । दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान) ले एक विज्ञप्ति निकालेर चीन र अमेरिका दुवैलाई अधिकतम संयमता देखाउन आग्रह समेत गरेको छ।

आसियान समूहमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम रहेका छन् । जवाफमा चीनले दक्षिणपूर्वी एसियाली देशहरुसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग भएको भेटमा सम्बन्धलाई बिग्रन नदिने बताउनुभएको समाचार संस्था एपीले जनाएको छ।

सम्बन्धित खबरहरु