काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई रु ३६ लाख राहत रकम वितरण गरेको छ । जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा उक्त राहत रकम वितरण गरिएको हो । राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा छन् । वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको हकमा सरकारी अस्पतालमा उपचार भएको बिलबमोजिम र अन्नबाली तथा चौपाया क्षतिका सम्बन्धमा मापदण्डको परिधिभित्र रही स्थानीय मूल्याङ्कनका आधारमा क्षतिपूर्ति प्रदान गरिँदै आएको छ ।

यस्तै निकुञ्जको संरक्षणकार्य प्रभावकारी बनाउन गत आर्थिक वर्षमा सम्पन्न विकास कामको प्रगति एवं खर्चसमेत सार्वजनिक भएको छ । विनियोजित रकम रु २८ लाख ८८ हजारमध्ये लक्षित विकास निर्माणका संरचना तयार गराउन रु २५ लाख २५ हजार खर्च भएको र समग्र प्रगति ९१ दशमलव ८२ प्रतिशत पूरा भएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु