काठमाडौं । राजनीतिबाट सन्यास लिएको खबरबीच जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नयाँ रुपमा देखा पर्नुभएको छ ।
उहाँले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने घोषणा गर्नुभएको हो ।
गत निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी–२ बाट राउत प्रतिनिधि सभा सदस्यमा लड्न लाग्नु भएको छ । अध्यक्ष यादव यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।
बिहीबार जनकपुरधाममा बसेको बैठकले राउतलाई सप्तरी–२ बाट चुनावमा लडाउनेबारे छलफल गरेको थियो । सोही छलफल अनुसार आफूले त्यस क्षेत्रबाट म चुनाव लड्न लागेको राउतले बताउनुभयो ।
सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि निर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।