काठमाडौं ।  मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व सङ्कलन गरेको छ ।

 

कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो ।कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ रू १९ करोड ३३ लाख ७८ हजार २४३ राजस्व सङ्कलन गरेको थियो ।

प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी रू ८२ करोड १८ लाख ३७४ र संघीय कोषमा जम्मा हुने गरी रू तीन करोड ९३ लाख सात हजार २५० राजश्व सङ्कलन गरिएको प्रमुख लामिछानेले बताउनुभयो ।

कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त राजस्व सङ्कलन गरेको हो ।

कास्कीमा आठ हजार मतदाता थपिए

कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उहाँले बताउनुभयो ।

जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब एक हजार ८००ले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । रासस

सम्बन्धित खबरहरु