काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।

पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।

सडक कटानपछि वर्षैपिच्छे पुल अगाडि पहिराले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले पुल उपयोग गर्न नपाएको स्थानीय खडक विष्टले बताउनुभयो । पुल सञ्चालनमा ल्याउनुभन्दा पनि पुललाई स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ । उक्त पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरुपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने जनाइएको छ ।

जयपृथ्वी नगरपालिका–३ पडेससँग प्रत्यक्ष सम्बन्ध भएको भण्डारका स्थानीयलाई उक्त पुल स्थान्तरण गरेमा सहज हुने देखिन्छ । जोखिम मोलेर खोला तर्दा दिनहुँ आफूहरुलाई समस्या हुने गरेको र धेरै वर्षा भएर खोला बढेको दिनमासमेत विद्यालय छुट्ने गरेको पाण्डु माध्यमिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भण्डार गाउँबाट हामी करिब ४० जना पढ्नका लागि खोला तरेर जान्छौँ । बर्खाको दुई, तीन महिना त हामीलाई साह्रै अप्ठ्यारो हुन्छ ।” त्यस्तै सोही विद्यालयमा अध्ययनरत छात्रा समिता थापाले भन्नुभयो, “खोला तर्दा पोशाक, झोला, कापी, किताब सबै भिज्छन् अनि विद्यालय जानुभन्दा घरमै बस्छौँ ।

छोराछोरी विद्यालयबाट घर नफर्केसम्म बाटो हेरेर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । बिहान विद्यालय जाने बेला र बेलुका विद्यालयबाट आउने बेलामा खोला तार्न एक जनाले दैनिक जानुपर्ने बाध्यता रहेको स्थानीय उकेश विष्टले बताउनुभयो ।

वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई त्यो विषयमा स्थानीयले कुनै कुरा नगरेको र आफूलाई जानकारी नभएको जानकारी दिनुभयो । स्थानीयले आफूकहाँ माग लिएर आए उक्त विषयमा छलफल गरिनेसमेत उहाँको भनाइ छ । रासस

 

सम्बन्धित खबरहरु