काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले सम्पूर्ण पार्टी कार्यकर्तालाई जनमत आफूतिर पार्ने महासंग्राममा होमीन निर्देशन दिनुभयो ।

शुक्रबार भक्तपुरमा आयोजित एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताउनुभयो ।

यो निर्वाचन एउटा मौका भएको पनि उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ । देशको आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो ।’ राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढाउनुपर्ने कुरामा अध्यक्ष ओलीले जोड दिनुभयो ।

उपयुक्त सरकार बनाएर मात्रै देश आधुनिकीकरणतर्फ उन्मुख हुने उहाँले बताउनुभयो । त्यसका लागि बहुसंख्यक जनताको साथ र समर्थक पाउनुपर्छ । उहाँले अगाडि भन्नुभयो, ‘कम्तिमा हामीलाई दुई तिहाइ बहुमत चाहिने हो । तर सम्भावना कम छ ।’

ओलीले एमालेलाई दुइ तिहाई बहुमत आवश्यक रहेको जिकिर पनि गर्नुभयो । इमान्दार प्रयासलाई अघि बढाउँदा बहुमत प्राप्त गर्न सक्ने आधार भएको भन्दै सबैलाई त्यसतर्फ लाग्न निर्देशन दिनुभयो । ओलीका अनुसार एमालेले केन्द्र र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्छ ।

सम्बन्धित खबरहरु