काठमाडौं । चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ । हालै पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्, जसकारण चीन रिसाएको हो । चीनले ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई कमजोर बनाएको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको आरोप लगाएका छन् ।

पेलोसीले ताइवानको क्षेत्रमा शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको पनि उनले आरोप लगाए ।

चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ, त्यसलाई चीनमा विलय गर्न चाहन्छ । अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एसियाली भ्रमणको अन्तिम बिन्दुका रुपमा शुक्रबार जापान पुगेकी छन् ।

त्यहाँ उनले पत्रकार सम्मेलन गरेर आफ्नो ताइवान भ्रमणको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको भन्दै स्पष्ट पारिन् । पेलोसीले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने पनि उल्लेख गरिन् ।

सम्बन्धित खबरहरु