काठमाडौं ।  पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

 उजाड पाखो बन्यो फलफूलको बगैँचा

म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गर्नुभएको छ ।

नाम केराबारी भए पनि भिरालो जमिनमा चट्यानै चट्यान रहेको पाखोलाई सम्याएर उहाँले दुई हजार ५०० भन्दाबढी केराका बिरुवा लगाउनुभएको छ । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका– २ खबराबाट प्रतिबिरुवा ६० रुपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गर्नुभएको थियो ।

चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरुवा लगाउनुभएको छ । उहाँले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती लगाएपछि उजाड पाखा अहिले फलफूलको बगैँचामा परिणत भएको छ ।

एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरुपमा केराखेती सुरु गर्नुभएका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरुवा हुर्किरहेका छन् । मौरीपालन पनि गरेका उहाँको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको जनाइएको छ ।

काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक हजार ५०० बोटको केराबाट मासिक रु ५० हजारभन्दा बढी कमाइ हुने गरेको कृषक केसीले बताउनुभयो । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् । उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।”

केरामात्रै होइन केसीको फार्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ । यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरुवाप्रति बिरुवा एक सयका दरले बिक्री भएको उहाँको भनाइ छ ।

रु तीन लाख लगानीबाट सुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १२ लाख लगानी पुगको छ । धानखेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाउनुभएका केसीले केही पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गर्नुभएको छ ।

कहिलेकाहीँ परिवार तथा साथीसङ्गी गएर बस्नका लागि कटेजसमेत निर्माण गर्नुभएका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ । बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आउनुभएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिनुभएको छ । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ ।

हिजोआज उहाँको धेरैजसो समय पसलतिर ग्राहकसँगभन्दा पनि केराबारीको केरासँगै बित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्येक दिनजसो उहाँ केराबारीमा पुग्नुहुन्छ । रासस

सम्बन्धित खबरहरु