काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।

भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् । –

सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने

सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याउनुभयो ।

हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताउनुभयो । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगीे खोजी गरेर केन्द्रमा तथ्याङ्क उपलब्ध गराएमा छिटोछरितो औषधि उपलब्ध गराउन सकिने बताउनुभयो ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियान अगाडि बढाउन सकेमा धेरै सर्वसाधारण लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

विज्ञहरु डा दीर्घसिंह बम, डा राजेन्द्र पन्त, डा महेश्वर श्रेष्ठलगायतले विगतमा व्यवस्थापकीय कमजोरीले उक्त रोगबाट गत वर्ष १७ हजार मानिसको मृत्यु भएकामा अब यसलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । विभिन्न प्रदेशका प्रतिनिधिको प्रस्तुति रहेकोे उक्त कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सञ्जयकुमार ठाकुरले क्षयरोगमुक्त नेपाल अभियानबारे चर्चा गर्नुभयोे ।  रासस

सम्बन्धित खबरहरु