इस्लामावाद, २१ साउन (रासस÷एएनआई) – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले नौ ठाउँबाट एकसाथ चुनाव लड्ने घोषणा गर्नुभएको छ ।

पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको हो । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको छ ।

आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् ।

गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पिटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गर्नु भएको थियो ।

उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो ।

उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो ।

सम्बन्धित खबरहरु