काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई एमालेलाई ढाल्ने बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको संज्ञा दिनुभएको छ ।


शनिबार राजधानीमा आयोजित प्रदेश सम्पर्क कमिटी प्रदेश १ को अगुवा कार्यकर्ता भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति आक्रोश पोख्नुभयो ।

उहाँले बिँडबिनाको बन्चरोले रूख ढाल्न नसक्ने उल्लेख गर्दै एमाले रूपी रूख ढाल्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको आरोप लगाउनुभएको हो ।

कांग्रेसका बिँडचाहिँ कस्ता छन् हेर्नुहोस त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाहिँ कस्ता कस्ता छन् ?

त्यही भनेर रूख बर बर आँशु खसाल्दो रहेछ । ढल्नुपर्यो, जानुपर्यो भन्ने पीर हैन, बञ्चराले मात्र रूख ढाल्नै सक्दैन तर बिँड नभई ।

घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ उहाँले भन्नुभयो ।

उहाँले कांग्रेसलाई २३ सिटमा खुम्च्याइ दिएको तर प्रचण्ड र नेपालले बिँडको भूमिका खेलेर कांग्रेस चम्किरहेको तर्क गर्नुभयो । कांग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्याइदिएका थियौँ ।

यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाऊँ, दक्षिणपन्थी सरकार ढालीपाऊँ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् उहाँले भन्नुभयो ।

उहाँले आगामी निर्वाचनमा कांग्रेसको बिँड भएर कम्युनिस्ट सिध्याउनेतिर नलाग्न माओवादी केन्द्र एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले एमाले कार्यकर्तालाई कम्युनिस्ट पार्टीलाई जोगाउन एकीकृत समाजवादीका नेता कार्यकर्तालाई सम्झाएर पार्टीमा फर्काउन पनि निर्देशन दिनुभयो ।

चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडीदिऊँ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ कांग्रेसका बिँड भएर कम्युनिस्ट सिध्याउने कि कम्युनिस्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनुपर्दछ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु