काठमाडौं । नयाँ शक्ति पार्टीमा एक पिल्लरको रुपमा डा. बाबुराम भट्टराईलाई साथ दिँदै राजनीतिक यात्रा तय गर्नुभएका कृषि विज्ञ मदन राई भट्टराईसँगको राजनीतिक यात्राबाट अलग्गिनुभएको छ ।

७ वर्षअघि देखि उहाँले डा. बाबुराम भट्टराईको समूहमा रहेर राजनीति गर्नुभएको थियो ।

डा. भट्टराईको नेतृत्वको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा राई बस्नुभएन ।

शनिबार साँझ फेसबुकमा एक स्टाटस अद्यावधिक गर्दै राईले भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गर्नुभएको छ ।

‘म अलग भएँ, क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो,’ उहाँले लेख्नुभएको छ । लामो समय नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गर्नुभएका उहाँले उक्त पार्टी परित्याग गरी १६ वर्ष स्वतन्त्र जीवन विताउँनुभयो ।

उहाँले आफ्नो जन्मथलो खोटाङमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभामा उम्मेदवारी समेत दिनुभएको थियो । २०७२ मा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको ३५ सदस्यीय कमिटीमा राई पर्नुभएको थियो ।

पछिल्लो सात वर्षमा डा. भट्टराई शक्ति र मिसमास राजनीतितिर लागेपछि आफू सल्लाहमा नै अलग बसेको राईले स्पष्ट पार्नुभएको छ ।

‘७ वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेर भए, राम्रा भए,’ उहाँले लेख्नुभएको छ, ‘अरुलाई सहयोग गर्न धेरै काम लाग्नेछन् ।’

उहाँले बाँकी जीवन ‘क्याडरलेस’, ‘पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पछिल्लो पुस्तालाई समय, ज्ञान र धनले समर्पित भएर सघाउने उद्घोष गर्नुभएको छ ।

उहाँले स्वतन्त्र उम्मेदवारहरुको पक्षमा आफू उभिने संकेत देखाउँनुभएको छ । कुनै बेला खोटाङमा स्वतन्त्र उम्मेदवार बन्नुभएका राईले आफै स्वतन्त्र उम्मेदवार बन्ने कि नबन्ने भन्नेमा चाँडै निर्णय लिने बताउनुभएको छ ।

म परामर्शमा छु, खोटाङमा स्वतन्त्र उम्मेदवार बन्ने जल्दोबल्दो व्यक्तित्व देखिरहेको छैन, यसैले आफूपनि जानसक्छु ।

तर म ‘क्याडरलेस’, ‘पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा उभिइसके उम्मेदवार बन्ने बनाउँने निश्चित छ उहाँले भन्नुभयो ।

 

सम्बन्धित खबरहरु