काठमाडौं । ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ ।

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहेनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनप्रति अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ताका क्रममा उनले इरानले चीनको ‘एक चीन’ नीतिलाई कानुनी दायित्वका रूपमा पालना गरेको कुरामा जोड दिए ।

इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा पनि दुई मन्त्रीबीच वार्ता भएको जानकारी गराइएको छ । सम्झौतामा पुग्न अमेरिकाको यथार्थपरक प्रतिक्रियाको आवश्यकता रहेको कुरामा जोड दिइयो ।

साथै, चीनले आफ्नो देशको भौगोलिक अखण्डताका सम्बन्धमा इरानको अडानको प्रशंसा गर्दै विश्व समुदायको ठूलो हिस्साले चीनको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्नुपर्नेमा जोड दिएको छ । चिनियाँ विदेशमन्त्रीले दुई देशको हितअनुसार द्विपक्षीय सम्बन्ध विकास गर्ने कुरामा जोड दिए ।

कुराकानीमा अन्तर्राष्ट्रिय क्षेत्रमा एकपक्षीयतालाई अस्वीकार गर्दै विकासशील देशहरूको हितलाई समर्थन गर्ने कुरामा जोड दिइयो । चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भन्दै आएको छ ।

अमेरिकाले चीनको एक चीन नीतिको उल्लंघन गरेको चीनको आरोप छ । चीनले आफ्नो एक चीन नीतिको समर्थनमा सयभन्दा बढी देश अगाडि आएको दाबी गरेको छ ।

यसबाहेक इरानी विदेशमन्त्रीले हालै दुई देशका राष्ट्रपतिबीच भएको टेलिफोन वार्तालाई उपयोगी र ठोस भएको बताएका छन् । उनले द्विपक्षीय सम्झौताको पालना र कार्यान्वयन गर्न इरान र चिनियाँ अधिकारीहरूको संयुक्त प्रयासतर्फ जोड दिए ।

दुवै पक्षले आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने र प्रतिबन्ध हटाउने वार्तालगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय हितका विषयमा छलफल गरेका हुन् ।

सम्बन्धित खबरहरु