धार्मिक व्यूरो । इस्लाम धर्ममा पाँच किसिमका अरकानहरू रहेका हुन्छन् । अरकान भनेको स्तम्भ वा जग भन्ने अर्थमा हुन्छ । जसमा आधारित भएर नै इस्लाम धर्मको ढाँचा निर्भर रहेको हुन्छ । ती ५ अरकान निम्नानुसार रहेका छन् ।

  • शहादत
  • सला
  • जकात
  • सौम
  • हज

शहादत : शहादतको बारेमा जानकारी राख्नु हरेक इस्लाम धर्मावलम्बीहरूको लागि महत्वपूर्ण कुराहरू हुन् । हरेक इस्लामले कलमा शहादतको अर्थ जान्नै पर्छ भन्ने मान्यता राखिन्छ ।

सला : हरेक मुस्लिमले प्रतिदिन ५ पटक नमाज पढ्नुपर्छ भन्ने मान्यता छ । उर्दू भाषामा नमाज भनेर चिनिने उपासनालाई नै अरबी भाषामा सला भन्ने गरिन्छ । रोजा, नमाज आदि सबै वयस्कहरू अर्थात् वयस्क मुसलमानहरूको लागि अनिवार्य हुन्छ । तर जकात र हज सबैका लागि अनिवार्य हुँदैन । बरु आर्थिक रूपमा सम्पन्न भएपछि जकात दिइन्छ र स्वास्थ्य र आर्थिक अवस्था सुदृढ भएपछि एकपटक हज जानुलाई उपयुक्त मानिन्छ ।

हज इस्लामिक क्यालेन्डरका अनुसार हरेक वर्ष जिलहिज्ज महिनाको ८ देखि १२ तारिखसम्म चल्ने गर्छ । सम्पूर्ण विश्वका मुसलमानहरुका लागि किबला अर्थात् कावा शरीफ जुन साउदी अरेबियाको मक्का शहरमा अवस्थित छ, त्यसको तवाफ अर्थात् चक्कर लगाउनुलाई नै हजयात्रा मानिन्छ । हजको समयमा हज यात्रीहरू आरामले बस्नुपर्छ। आरामको अर्थ बिना सिलाएको वस्त्रमा हज गर्नुपर्छ । यद्यपि बिना सिलाएको वस्त्रको पाबन्दी पुरुषलाई हुन्छ महिलालाई हुँदैन । हजको समयमा दिमाग तथा शरीर शुद्ध हुनु आवश्यक छ ।

हज यात्राको समयमा मदीनाको यात्रा हरेक हाजीहरूको लागि जीवनको सबैभन्दा खुशीको यात्रा मानिन्छ । हजरत मदीना पैगम्बर मोहम्मदको चिहान हो ।

इस्लाम धर्ममा जकातको ठूलो महत्व हुन्छ । जकातको अर्थ दान भन्ने हुन्छ । यो कर होइन बरु धनमालको पवित्रता र गाउँ समाजमा बसेका गरिब गुरुवाको सहायताको लागि गरिने सहयोगको सिलसिला हो । आज पनि लाखौं गरिब परिवारको जीविका जकात स्वरुप निकालेको दानबाट चलिरहेको छ ।

जकात दिनुले पाप मेटिन्छ भन्ने मान्यता पाइन्छ । दान दिँदा आफ्नो धनमालमा समेत वृद्धि हुन्छ भन्ने मान्यता इस्लाम धर्ममा पाइन्छ । स्वर्ग (जन्नत) मा समेत उसलाई ठाउँ मिल्छ भन्ने मान्यता पाइन्छ । यति हुँदाहुँदै पनि इस्लाम कानुनले जोकोहीलाई जकात लिनको लागि योग्य मानेको छैन । ८ प्रकारका व्यक्तिले मात्रै जकात लिन सक्ने स्पष्ट व्यवस्था इस्लाम कानुनमा उल्लेख छ ।

इस्लाम धर्मका अनुसार जकात (दान) लिन योग्य ८ किसिमका व्यक्तिहरू को-को हुन् ?

  • फकिर अथवा धेरै लाचार मान्छेले जकात(दान) लिनु जायज हुन्छ।
  • गरिब र नादार जसको औकात फकिर भन्दा अलि राम्रो खालको छ।
  • जकात असुल्ने र अरूको संरक्षण गर्ने मान्छेको लागि जकात जायज छ।
  • तालिफ कल्ब अथवा इस्लाम धर्मलाई सुदृढ पार्ने वा कुनै गैरमुस्लिम प्रधानलाई इस्लाममा ल्याउने चाहनाले वा उस्को उपद्रव र बुराईबाट जोगाउने हेतु तिनीहरुलाई जकात दिनु जायज छ।
  • गुलामलाई गुलामीबाट आजाद गर्ने हेतुले जकात दिनु जायज छ।
  • ऋण र साप्ठीले बेहाल भएका मान्छेको लागि जकात जायज छ।
  • फि सबिलिल्ला अथवा इस्लामको प्रचार प्रसार गर्ने र मोजाहिद अथवा युद्धको लागि जकात जायज छ।
  • बटुवा र यात्रीले पैसा खतम भएमा वा चोरी भएमा आफ्नो घरसम्म जाने हेतु जकात लिनु जायज छ।

इस्लाम हाउसको सहयोगमा

सम्बन्धित खबरहरु