काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको बताएका छन् । ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआई एजेन्टहरूले पाम बीचमा रहेको आफ्नो घर मार–ए–लागोलाई नियन्त्रणमा लिएको जानकारी गराए ।

सीबीएस न्यूजको रिपोर्ट अनुसार एफबीआईको यो छापा ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजातहरू कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानसँग सम्बन्धित छ । ट्रम्पले गत वर्ष अमेरिकी क्यापिटलमा भएको हिंसाको संसदीय छानबिनको पनि सामना गरिरहेका छन् ।

सीएनएनको रिपोर्टका अनुसार सोमबार एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा थिए । ट्रम्पले आफ्नो बयानको सुरुमै यो आफ्नो देशका लागि कठिन समय भएको बताएका छन् ।

ट्रम्पले भने, ‘मैले अनुसन्धानमा आवश्यक सबै सरकारी निकायलाई सहयोग गरेको छु । यस्तो अवस्थामा मेरो घरमा अघोषित छापा मार्नुको कुनै अर्थ थिएन । यो छापा मा एक प्रक्रियागत त्रुटि छ । मलाई २०२४ को राष्ट्रपति चुनाव लड्न नदिनका लागि न्यायपालिकालाई आफ्नै तरिकाले प्रभावित गरिएको छ ।’

ट्रम्पले थप्दै भने, ‘यस्तो कदमले अमेरिका तेस्रो दुनियाँको देश बन्न सक्छ । अमेरिका भ्रष्ट मुलुक जस्तै भएकोमा दु:ख लागेको छ । अमेरिकाको यस्तो छवि पहिले कहिल्यै थिएन ।’

सीबीएस न्यूजले पुष्टि गरे अनुसार मार–ए–लागोमा एफबीआईको छापा अमेरिकाको नेशनल आर्काइभ (राष्ट्रिय अभिलेखालय) रेकर्डहरूको मर्मतसम्भारको अनुसन्धानसँग सम्बन्धित छ । राष्ट्रिय अभिलेखागार एक अमेरिकी सरकारी निकाय हो । यस निकायले राष्ट्रपतिबाट अभिलेख राख्छ ।

फेब्रुअरीमा, अमेरिकी न्याय विभागले सरकारी कागजातहरू ह्यान्डल गरेको भन्दै ट्रम्पविरुद्ध छानबिन गर्न आह्वान गरेको थियो । नियम अनुसार, अमेरिकाका सबै राष्ट्रपतिहरूले सबै पत्रहरू, सबै कामसँग सम्बन्धित सबै कागजातहरू र इमेलहरू राष्ट्रिय अभिलेखमा बुझाउनु पर्छ ।

तर अधिकारीहरूले ट्रम्पले धेरै कागजातहरू नष्ट गरेको बताएका छन् । राष्ट्रिय अभिलेखालयले केही कागजपत्रहरू बरामद भएको जनाएको छ । तर, ट्रम्पले सरकारी कागजातलाई हेरफेर गरेको खबरलाई खारेज गर्दै त्यसलाई झुट्टो समाचार भनेका छन् ।

सम्बन्धित खबरहरु