काठमाडौं । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ ।

वर्षात्का बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बिओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना रहेका छन् ।

अधिकांश बिओपी बस्नलायक नभएको बताइएको छ । वर्षात्का बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ । टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ ।

वर्षात् आउनुअगावै टेन्टमा रहेका बिओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताउनुभयो । “टेन्ट पुराना भइसकेका थिए”, उहाँले भन्नुभयो, “जगेडा रहेका टेन्ट उपलब्ध गराएका छौँ ।”

जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उहाँको भनाइ छ । “सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ”, उहाँले भन्नुभयो, “केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौँ ।”

दुईवटा फरवार्ड अब्जर्बेशन क्याम्पका लागि भने बोलपत्र भएको उहाँले बताउनुभयो । वर्षात्का बेला खल्ला मुसेट्टिलाई छाडेर सबै ठाउँमा गाडीमा पुग्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पाँचदेखि सात किलोमिटरको दूरीमा बिओपी राखिएका छन् ।

“पाँचदेखि सात किलोमिटरमा बिओपी छन् । बिओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्”, उहाँले भन्नुभयो । डोकेबजारबाट खल्लामुसेट्टिसम्मको भारतसँग जोडिएको एक सय २९ किलोमिटर क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ ।  रासस

 

 

सम्बन्धित खबरहरु