काठमाडौं । नेपालसँग सीमा जोडिएको भारत, बिहार राज्यमा ठूलो राजनीतिक परिवर्तन देखिएको छ । भारतीय जनता पार्टीको समर्थन रहेको सरकार ढलेको छ ।

५ वर्षपछि नितिश कुमारको पार्टी जेडीयू र भाजपाबीचको गठबन्धन फेरि टुटेको हो । मुख्यमन्त्री निवासमा जेडीयूका सांसद र विधायकहरूको बैठकमा यो घोषणा भयो ।

स्रोतका अनुसार जेडीयूको बैठकमा नितिश कुमारले भाजपाले सधैं आफ्नो दललाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनु भएको छ । बैठकमा उहाँले भन्नुभयो, ‘भाजपाले मलाई अपमानित गर्यो । २०१३ देखि हालसम्म भाजपाले धोका मात्र दिएको छ ।’

जेडीयू बैठकपछि नितिश कुमार सिधै राजभवन पुग्नुभयो, जहाँ उहाँले राज्यपाल फागु चौहानलाई राजीनामा बुझाउनुभयो । नीतीशले यससँगै सरकार बनाउने दाबी पनि पेश गर्नुभएको छ ।

उहाँले राज्यपाललाई १६० विधायकको समर्थन पत्र समेत बुझाउनु भएको छ । राजभवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै नितिश कुमारले भन्नुभयो, ‘सबै विधायक र सांसदहरूले एक आवाजमा एनडीए गठबन्धनबाट बाहिर रहन सुझाव दिए, त्यसपछि हामीले राजीनामा दिएका छौं ।’

कांग्रेसका विधायक शकील अहमद खानले नितिश कुमार महागठबन्धनको मुख्यमन्त्री हुने बताउनुभयो । उहाँका अनुसार सबै कुरा मिलाइएको छ । स्रोतका अनुसार तेजस्वी यादव उपमुख्यमन्त्री हुनुहुनेछ । सभामुखको कुर्सी कांग्रेसले पाउन सक्छ ।

सम्बन्धित खबरहरु