टोकियो । आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले आफ्नो कब्जामा रहेका अर्का जापानी पत्रकारको पनि हत्या गरेका छन् ।
आइएसले जापानी पत्रकार केन्जी गोटोको पनि हत्या गरेको भिडियो सार्वजनिक गरेको हो । गत सातामात्र आइएसले अर्का जापानी नागरिक हारुना युकावाको शिर छेदन गरी हत्या गरेका थिए ।
पत्रकार गोटोको रिहाईका लागि जापान सरकारले प्रयास गरिरहेको भएपनि त्यसलाई बेवास्ता गर्दै आईएसले उनको हत्या गरेको भिडियो सार्वजनिक गरेको हो ।
यसअघि ७२ घण्टाभित्र २० करोड अमेरिकी डलर फिरौती नदिए आफ्नो कब्जामा रहेका जापानी नागरिकको हत्या गर्ने धम्की दिइएको थियो ।
जापानले आइएस विरुद्ध नयाँ सुरक्षा नीतिको तयारी गरिरहेका बेला दुई जापानी नागरिक आइएसको कब्जामा परेका थिए ।
४७ वर्षीय गोटो स्वतन्त्र पत्रकार र प्रतिष्ठित फिल्म निर्माता हुन् । उनी गत अक्टोवरमा सिरियाबाट अपहरणमा परेका थिए । यसअघि बन्धक बनाइएका हारुना युकावाको पनि हत्या गरेको भिडियो आइएसले सार्वजनिक गरेको थियो ।
आइएसले सार्वजनिक गरेको भिडियोबारे छानबिन भइरहेको जापानका अधिकारीहरुले जनाएका छन् । जापानले जोर्डनको सहयोगमा गोटाको रिहाइको लागि पहल गरेको थियो ।
आइएसले गरेको गोटोको हत्याका विश्वब्यापी निन्दा भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन लगायतले घटनाको भत्सर्ना गरेका छन् ।