काठमाडौं । म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो ।

हामीबाट दुई छोरा छोरी जन्मिएका छन् । काठमाडौंमा एउटा पुस्तैनी घर छ । हामी बस्नलाई तीन कोठा भाग लागेको छ । यो हामीलाई पर्याप्त थियो ।

घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ एकदिन श्रीमानले के के सुनेर आउनुभयो अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो ।

त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें हामी लाई के काम इजरायलको गफ । नजाने गाउँको बाटै नसोध्नु ।

किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ थोरै छ होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, हाम्रो पनि आथिर्क हैसियत अलि उकालौं । सधै यही तीन कोठामा जिन्दगी बिताउने ?

भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न ।’श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्यो ।

विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर उहाँले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ ।

इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान र छोराछोरीबाट टाढा नभएकी म एक्कासि सात समुद्रपारि पुगेकी थिएँ । मनलाई सम्झाउन निकै कठिन भैरहेको थियो ।

इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको को सारा अंग समेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । केयर गिभर भनिएपनि म घरकी नोकर्नी नै थिएँ । सुरुसुरुमा त कति रोएँ कति । तर के गर्नु सबै भताभुङग बनाएर म त्यता पसेकी थिएँ । फकिर्एर फेरि के गर्ने ? मेरो तलब आएकै दिन म सबै पैसा श्रीमानलाई पठाइदिन्थें ।

मलाई खान बस्न पैसा खर्च नहुने । एकदिन पाउने बिदामा पनि त्यही घरमा काम गरिदिएर अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो खर्च त्यही पैसाले पुगिहाल्थ्यो । मेरो महिना सुरु हुन नपाउँदै श्रीमानको लिस्ट आइहाल्थ्यो ।

म कहिलेकाहीँ भन्थें ‘जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी छु, त्यो पहिले पूरा गरौं । यसरी फाल्तु खर्च किन गर्ने ?’ ‘तिमी तीन–चार वर्ष बसिहाल्छयौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुहुन्थ्यो ।

मैले पैसा बचत गर्न सम्झाइरहन्थें । एकदिन श्रीमानले फोन गरेर भन्नुभयो ‘साथीहरूले मिलेर एउटा २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन् । तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न ।

स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ ।’ कुरा राम्रै लाग्यो । साथीहरूसित ऋण लिएर मैले आठ लाख पठाइदिएँ । ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमानको भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो ।

मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो । ११ महिनाको तलब थापेकी पनि थिइन, श्रीमानको फर्माइस आयो ‘स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ ।’ सबैभन्दा नजिकको सम्बन्ध श्रीमान श्रीमति कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ ।

फोनबाट कुरा गर्दा छोराछोरी र सासू ससुरा सबै खुशी थिए । स्कुल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुशी नै थिएँ ।

जे होस अब नेपाल फकिर्एपछि त आफ्नै स्कुल हुन्छ भन्ने लागेको थियो । फागु पूणिर्माका दिन छोराले फोनमा रुँदै भन्यो, ‘मामु, बुबाले बर्बाद गर्नुभयो ।’ ‘के भयो, किन रोएको, के गर्नुभयो बुबाले ? ’छोराले बोल्न सकेन ।

फोनमा छोरीको फेरि आवाज आयो । ‘मामु बुबाले त अर्की विवाह गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा–हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो ।

हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले विवाह गरेको नै दुई वर्ष भै सकेको भन्नुभयो । तपाईलाई थाहा नहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।’ म छाँगाबाट खसेझैं भएँ । विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि । ओहो, आज आएर सम्झदैछु । त्यो समयमा एकाएक आएको परिवर्तन झल्झली भयो ।

कसरी मलाई इजरायल पठायो ? कसरी मसितबाट सबै पैसा लियो ? सबै एकै पटक मथिगंलमा घुमे । मैले सासूसित कुरा गरें । सासूले पनि हो भन्नुभयो । श्रीमानलाई फोन गरें । फोन अफ छ । छोराछोरी रोएका रोयै छन् । चार दिनपछि राति श्रीमानको फोन उठ्यो । तर महिलाले फोन उठाइन् । मैले ‘तपाईं को ?’ भनेर सोधें । उनले भनिन् ‘म दिनेशकी श्रीमति’ ‘दिनेशकी श्रीमति त म पो हुँ, तिमी को हौ ? दिनेश खोइ ?’ यति भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए ।

सासू–ससुरासित पहिल्यै छुट्टिसकेकाले केटाकेटी आफै पकाएर खान्थे । म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ । भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनें । मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतिको नाम रहेछ । क्यान्टिन पनि उसैले चलाएकी थिई । एउटा डान्स रेस्टुराँमा नाच्ने केटी ल्याएको रहेछ ।

मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस्, म र छोराछोरी बर्बाद भएका थियौं । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनें । तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने कुरा भाइलाई सुनाएँ । भाइले भन्यो दिदी हामी भान्जा भान्जीलाई ल्याएर राख्छौं तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र फर्क । दिन बित्दै गए । ऋण पनि तिरियो । म घर र्फकन्छु भन्दै थिएँ ।

छोराले फोनमा भन्यो ‘तिमीहरू मामा घरमा गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं । मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें । यसबीच छोरीले एसएलसी उत्तीर्ण गरिन् । छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो । मेरो त सब बर्बाद भैसकेको थियो । विवाहको रातदेखि अहिलेसम्म श्रीमानले मसित गरेको माया सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरा सामु नाचिरहेका थिए । म इजरायल आएको चार वर्ष भयो ।

सम्बन्धित खबरहरु