काठमाडौं । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुले काठमाडौं महानगगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गर्न थाल्नुभएको छ ।

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै आलोचना गर्नुभएको हो ।

बिहीबारको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुले फोहोरको विषयमा मात्र छलफल गरेका थिए ।

वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले मेयरले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘मेयर साब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ’ उहाँले भन्नुभयो, ‘त्यो गर्दा आफ्नो टिमलाई लिएर जानुभएको छ ? हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन् ।’

उहाँले एक्लै हिँड्न भन्दा टिमसँग सहकार्य गर्न मेयर बालेनलाई आग्रह गर्नुभयो । एक्लै जाँदा भन्दा टिमसहित जाँदा प्रेसर पर्छ’ उहाँले भन्नुभयो ।

मेयर असफल भए सिंगो महानगरपालिकाका जनप्रतिनिधि असफल हुने भन्दै स्वतन्त्र निर्वाचित भए पनि आफूहरु मेयरको साथमा रहेको केसीको जोड थियो । केसीको भनाईमा अरु वडाअध्यक्षहरुलेपनि सोही विषयमा थप कुरा राख्नुभएको थियो ।

पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म त्यसको बैठक नबोलाइएकामा पनि वडाअध्यक्षहरुले गुनासो गर्नुभयो ।

निर्वाचित भएपछि फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लगाउँदिन भने पनि ७० दिनसम्म समस्या समाधान हुन नसकेको भन्दै वडाअध्यक्षहरुले मेयर साहको चर्को नै आलोचना गर्नुभएको थियो ।

आलोचना गरिरहँदा मेयर बालेनले भने मन्द मुस्कान सहित समस्या भएको हो तर दिर्घकालिन समस्या समाधानका लागि आफूले काम गरिरहेको जवाफ फर्काउनुभएको थियो ।

सम्बन्धित खबरहरु