काठमाडौं । शिक्षक सेवा आयोगले आगामी शनिबार सञ्चालन गर्ने निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा दुई लाख बढी सहभागी हुने भएका छन् ।

आयोगको अनुसार उक्त लाइसेन्स परीक्षाका लागि नेपालभरबाट २ लाख ३ हजार १३१ परीक्षार्थी सहभागी हुनेछन् ।

सातै प्रदेशका २४ ओटा जिल्लाका ७९२ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

परीक्षा दिन गाउँ–गाउँबाट परीक्षार्थीहरु सहर आएका छन् । एकै पटक ठूलो संख्यामा मानिसहरु सहर आएपछि बास पाउँन नै मुस्किल भएको छ ।

पत्रकार करन ताम्राकारले सामाजिक सञ्जालमा नै लेख्नुभएको छ, डडेल्धुरा जिल्लामा ३२०० जना शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षा दिन आउनु भएका सहभागी परिक्षार्थीहरु मध्ये धेरै जना बसोबासको समस्या परेकाले सबैले सक्दो पहल गरौं ।

कैलाली जिल्लाको परीक्षाकेन्द्र परिवर्तन

शिक्षक सेवा आयोगले कैलाली जिल्लाको केन्द्र नम्बर ७२६ सरेको सूचना जारी गरेको छ ।

केन्द्र नम्बर ७२६ थ्री स्टार इ.बो.स्कुल क्याम्पस रोड ख कायम गरिएकोमा उक्त केन्द्रको सट्टा शारदा माध्यमिक विद्यालय वैयावेहडी (ग) मा सारिएको छ । जहाँ २५५ जना परीक्षार्थी छन् ।

सम्बन्धित खबरहरु