काठमाडौं, १८ माघ । एकिृकत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको १९ दलिय मोर्चाले संविधान छाड्ने तयारी गरेका छन् । श्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले १९ दलिय मोर्चाका नेताहरु सँग कांग्रेस एमाले संविधान सभाबाट पेलेर प्रकृयाद्धारा नै संविधान बनाउने तयारी गरेको भन्दै अब सहमतीको सम्भावना नरहेको बताएका छन् ।
आफ्नो विरोधका वीच संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया अघि बढाएपछि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा आक्रोशित भएको छ । उसले अब ‘गतिलो जवाफ’ दिने बताएको छ । त्यसका लागि मोर्चाका संयोजक एवं एमाओवादी अध्यक्ष प्रचण्डले आन्तरिक छलफल थालेका छन् ।
स्रोतका अनुसार प्रचण्डले आइतबार विहान मोर्चाको सचिवालयमा रहेका नेताहरुसँग आफ्नै निवास लाजिम्पाटमा छलफल गरेका छन् । ‘प्रश्नावली बनाउने प्रक्रिया रोकिन्छ भन्ने आशा थियो तर, उनीहरुले अघि बढाए’ छलफलमा सहभागी एक नेताले भने- ‘अब त्यसको गतिलो जवाफ दिनुपर्छ भन्नेमा पुगेका छौं ।’
छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चामा आवद्ध १८ दलका सभासदहरुले सामूहिक राजीनामा दिने प्रस्ताव अघि सारेका छन् । ‘अब सहमति हुने कुनै सम्भावना छैन’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो-‘विपक्षी १८ दलले सामूहिक राजीनामा दिएर सडकमा आउने प्रस्ताव आएको छ ।’
प्रचण्डले आफ्नो प्रस्तावबारे मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गर्ने क्रम जारी छ । अब संविधानसभामा बस्नुको औचित्य नभएको भन्दै सामुहिक राजीनामाबारे आआफ्नो पार्टीमा छलफल गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।
माओवादी र मधेसी मोर्चासहितका १९ दलको विरोधका बीच माघ ११ गते संविधानसभामा सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठनको घोषणा गरेका थिए ।
दलहरुबीच सहमतिका लागि भन्दै उनले समितिको बैठक ५ दिनपछि राखे । तर, समिति बनेपछि दलहरुहरुबीच सम्वाद समेत हुन छोडेको छ ।
प्रचण्ड नेतृत्वको मोर्चाले सरकार, सत्तारुढ पार्टी र सभामुखसँग वार्ता नगर्ने निर्णय गरेर सडक आन्दोलन घोषणा गरेको छ ।
सत्तारुढ दलहरु भने सम्वादभन्दा प्रक्रियामा जोड दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब प्रक्रियाबाटै संविधान बनाउने अडान लिएका छन् ।